~प्रेम कटवाल “जिजीवीषा”~
एका पट्टि टाल्यो भोटो, अर्का पट्टी दुलो हुन्थ्यो
त्यसैमानि रमाइन्थ्यो, आंग ढाक्नुनै ठुलो हुन्थ्यो।
सानो झुप्रो खरको छानो, डाँडा-भाटा बाहिरै हुन्थे
घाम छल्थ्यो हुरी चल्दा, आँखा भरि धुलो हुन्थ्यो।
हुँदा खायो कैले भोकै, साउको मेला जानु पर्थ्यो
दिन काट्नै गाह्रो हुन्थ्यो, भोकले खुट्टा लुलो हुन्थ्यो।
भोक खप्नै नसकेर, हजुरबा’को गोजी छाम्थें
काँचोपातका टुक्रा सँग, चक्मक् अनि झुलो हुन्थ्यो।
मेरी मा’ले बनि-बुतो, गर्दै हाम्रो छाक टार्थिन्
साँझ घर नफर्किन्जेल, सँधै चिसो चुलो हुन्थ्यो।
प्रेम कटवाल “जिजीवीषा”
~ खोटाङ दिक्तेल
(स्रोत : Janaboli )