~दीपेन्द्र शाह~
देखाई देउ हे आमा काम
काम हामी गर्दछौं
घरका रित्ता भकारी-डाला
पौरखले भर्दछौं ।
जाने हो कता, देखाउ बाटो
ह्र्दय खोलेर
उघार्र्छौं हामी ज्योतिको दैलो
यो जुगै फेरेर ।
घुम्दछौं प्रत्येक गाउंका कुना
ज्ञान ज्योति छरेर
प्रत्येक सुख्खा थलोमा आजै
सिंचाई गरेर ।
पुर्याउंछौं सारा विकट ठाउंमा
चम्किलो बिजुली
उर्वरा पार्छौं खोंच र बगर
यै माटो उचाली ।
यो छातीभित्र छ रांको जल्दो
नेपाल तागत
मिहिनेत गर्छौं बनाउन देश
बहुन्जेल रगत ।
भिजाउन परे यो माटो आज
मायाले भिजाउंछौं
माटोमा जागर उठाउनु परे
आफैंले उठाउंछौं ।
देशलाई शक्ति चाहिएमा मेरै
बाहु छन् तयार
चम्किलो संधै म देख्न पाउं
आमाको मुहार ।
(स्रोत : Freenepal)