~लक्ष्मण कार्की~
घिस्सिंदै घिस्सिंदै टिपेपनि
सुकाउन नसकेपछि रुङेर भट्टीमा रातभर
बेचियो काँचै
भित्रियो १५ हजार, १५ पाथी अलैंचीको ।।
त्यहि बगान जहाँ परारसम्म फल्थ्यो
सरदर १० मन अलैंची र भित्रिन्थ्यो १० लाख रुपैयाँ
तर पुर्याउन नसक्दा स्याहार
सालिन्दा हुँदैछ भ्यासेक्टोमी अलैंचीका बोटहरुको
कौडी बन्दैछ हिरा फलाउने बगान ।।
बिटा लगाएर जिङजिङे खेतमा
धान झारियोे, बत्ताइयो र भरियो
पाथीमा झुसी र डालोमा निम्ठो पार्दै
भाग लगाइयो अधियाँ
ददश पाथीका ददश धोक्रा परे भागमा
बेंशीकै रोज्जा खेत, जहाँ नफल्दा पनि फल्थ्यो सरदर ३० मुरी बेलगुठी धान
अधियाँमा दिएदेखि नहुँदा समयमै रोपार्इं
नहुँदा मलजल र, पुर्याउन नसक्दा गोडमेल
जान थाल्यो बैश खेतको ।।
धान घरसम्म पुर्याइदिने पनि कोही नभेटिएपछि
छोडेर खलामै धानका धोक्रा
बाआमा फर्किए घर
बैशका बेलाको बर्गत सम्झिंदै
र सम्झिंदै आफुहरुलाई जिउँदै मारेर मुग्लान भासिएका छोराछोरी ।।
भोलिपल्ट, पुग्दा खलामा
परालको कुन्यु र केही पाइलाका डोबमात्र थिए लतपतिएको गोबरसँगै
जिजुबाजेकै पालामा चाँपका काठले बारेर बनाएको
मुखियाको ढिकुटी रित्तै भयो पहिलोपल्ट ।।
बारी बाँझिएको त ऊ शहर पसेकै अर्को वर्षदेखि हो
तिनै वाँझा पाटामा चरेर त पालिएको छ सिंधुरी गाई
र खान पाएका छन् बाआमाले तर्याकतुरुक दहीमोही
पात झरेर सिक्रो हुन्छन् डाले घाँसका रुखहरु
रुख चढेर झारिदिने त कोही भेटिए पो ।।
…………………..
खलाबाटै धानका धोक्रा हराएको खबर
आमाले मोबाइलमा सुनाउँदै गर्दा
ऊ फर्किंदै थियो कोठामा
शहरमा कसैको खेतालो बनेर
टामाटिमी परेर उभियो केहीबेर
झसंग भयो र छाम्यो दिनभरिको ज्याला राखेको गोजी
झस्कियो, त्यै गोजी काटिदिएछ पकेटमारले
नेपाल यातायातमा ! !
…………..
‘साने ! ! भो अब फर्कि घर
थुक लगाउँदै टिपेर तोरीका गेडा
तँ कहिले बन्दैनस् कलियुगमा कुबेर,
भुईको तोरीको गेडो टिप्न खोज्दा
हेर् त पोल्टाबाट खसेका मोतीका दानाहरु’
सपनामा अर्जाप्दै थिइन्
उसैकी मरिसकेकी हजुरआमा ।।
(स्रोत : Ujyaloonline)