~मिश्र वैजयन्ती ~
पल्लो कुइनेटोमा छिन्
मेरी आमा
थोरै देखिएको छ उनको अनुहार
मैले पुग्नु छ आमासम्म ।
तिनै आमाको आधार पाएर
मैले आफूलाई यो धर्तीमा उभ्याएकी हुँ
मेरा दुई पाइतालामा गौरव गर्छु,
आमाको काखमै थिगिराउन सिकें जीउलाई
मेरो शिरको स्वाभिमानलाई अझ उजिल्याउँछु ।
तुषारोले छ्याप्पै हानेको कर्मलाई छिमलेर
सधैं मझेरीमा घाम खसाल्थिन् उनी !
एक मुठी उज्यालो
आफ्नो आँचलमा च्यापेर
हाम्रा आँखामा रोप्थिन् उनी ।
तर, भेटेकै रहेनछ मैले आमालाई
सधैं मेरी आमा
जादुजस्तो
सम्मोहनजस्तो
पल्लो कुइनेटोमा छिन् ।
मदेखि आमासम्म पुग्न
दूरी कत्ति पनि छैन ।
कत्ति सजिलो छ आमासम्म पुग्न
हृदयको बाटो
तर, कत्ति पनि किन पुग्दिनँ म
जति पुगे पनि !
पन्छाएर पहराहरू
पहराहरू अल्झाउने लहराहरू
र, आमासम्म पुगून् भनी पठाएका आवाजहरू
मैतिर फर्काउने पहाडहरू–
म आमासम्म पुग्नु छ ।
हावाले हल्लाएको देख्छु
सारीको एक छेउ
फरफराएको देख्छु हावामै
हिउँजस्तो उनको कपाल पनि
भर्खरमात्र आमा हिँडेका पाइतालाका डोबहरू
यहीं छन्, हावाले पनि छुन नभ्याएका
मात्रै एउटा कुइनेटाले
मेरी आमाको जीउ छेकेको छ ।
कति धारिला वाणीहरू
हिँडिरहे उनका मुटुलाई वारपार गर्दै
तर, उनका एकजोर आँखा
नानीतिरै अडिए ।
साथीजस्तै हिँडिरहेको छ बाटो
मलाई आमा हिँडेको बाटो
आमाजत्तिकै प्रिय लाग्छ ।
उनका सपनाहरूतिरै हिँड्छन्
मेरा सपनाहरू
एकदमै नजिक छन् हाम्रा सपनाहरू
तर, खै ! मलाई पुग्नुमा किन अभाव छ !
आओ ए मेरा सन्तानहरू !
मेरो काखैमा आओ
भत्काओ न मलाई
बिथोल मलाई
भेट मलाई
र, पुग मसम्म
म आमासम्म पुग्नु छ ।
(स्रोत : संगम साहित्य चौतारी)