~ठाकुर बेलवासे~
डान्सबारमा
नाङ्गै नाच्दै गरेको
बैशालु जूनका
पाउजुका धुनले
रात भर धरती जागिरह्यो
उज्यालो सहरको
अध्यारो आकाशमुनीको
यो बस्तीमा
चुराको मादक संगीत
कसले बजाई रह्यो
दिनभर सहर
ओसार पसार गरेको
थकान किन यसरी हराईरहेछ
धरती भन्दा उत्तेजित बनिरहेको छु
म एैठन परे कि
मैले चैतको अन्तिम दिन
घर छोडेको थिए
मैले चैतको अन्तिम रात
मेरी पि्रयाको माया
जोडले छातिमा कसेर निदाएको थिए
कसरी दिनहरु
घुमे एकै घेरामा
कसरी म आईपुगे
उही चैतको अन्तिम दिनमा
मलाई यो सहरले
किन काउकुती लगाउदैछ
म एैठन परेको छु
आज सहर किन सुतेको छैन
जसरी मैले घर छोड्दा
गाँउ सुतेको थिएन
विदेशी हृवीस्किले
टिलपिल टिलपिल बनेका
ताराहरुले गाएको
प्रेमगीत सुने पछि
मलाई लाग्यो
काल एकबर्ष बुढोभएछ
यो वर्ष पनि काल
मेरा पैताला मुनिबाट घिस्रिएछ
रातभरको अनिन्द्राले आखा मिच्दै
क्षितिजबाट आगनमा
ओर्लन खोजेको घाम देखेपछि
मलाई लाग्यो
सहरमा नयाँ दिन सुरुभएछन्
बाथले थलिएका
वासी सपनाहरु
बढो कठिनसाथ
उठेर एक पटक पूर्वहेरे पछि
मैले सोचे
जमेर बसेका हिमालहरु
हिड्न थालेछन्
अव मैले पनि
वासी सपनालई
उमंगको पानीमा धोएर
नयाँ आकाँक्षामाथि हिड्नु पर्छ
नजिकिदै गरेको मृत्युलाई
नदेखेजस्तो गरि
नयाँ वर्षका नाममा
मैले पनि मंगलगीत गाउनुपर्छ
प्रिया सहरमा नयाँ वर्ष आएकोछ
घाम, जून र ताराहरु
नाङ्गै नाच्न थालेका छन्
म भित्रभित्रै निचोरिएको छु
तिमीसंगको चैतको अन्तिम रात सम्झेर