~डा. भीम खतिवडा~
तिमी शक्तिशाली छौ भने
तिमी सम्पत्तिशाली छौ भने
तिमी प्रभाशाली छौ भने
ढोका उदांगो छ, आऊ
स्वागत छ तिमी सबलाई
००००
एकछिन ममाथि शासन गर
सम्पत्ति प्रभाव जोख
नशामा सञ्चित प्रभाव पोख
बजार तिम्रै लागि त हो
नजर तिम्रै लागि त हो
आऊ एकपटक सौर्य पराक्रम छर
वीर्यको खेती गर
०००
तिम्रो र मेरो जात उस्तै उस्तै
तिम्रो मेरो बात उस्तै उस्तै
तिम्रो र मेरो हर रात उस्तै उस्तै
तिम्रो र मेरो अन्तरर्घात उस्तै उस्तै
तिमी राजनीति भन्छौ
म वेश्यावृत्ति भन्छु
दुबै जीवनका निम्ति/दुबै बिहानका निम्ति ।
०००
तिमी स्वार्थको घोडा बन्छौ
म विश्वासको घोडा बन्छु
तिमी झण्डाको पसल थाप्छौ
म धन्दाको पसल थाप्छु
निर्वाचन, गाईजात्रा गर्छौ
प्रजातन्त्र, स्वर्ण यात्रा भर्छौ
रंग रंगका नेता भोला
झोला भर्ने बोल कबोल
मेरो व्यवस्था त्यत्ति बिग्रेको छैन
मेरो अवस्था जति बिग्रिएको छैन
तिमी रातभर जाग्राम रहेर दिनभर सुत्न सक्छौ
जिन्सी चपाएर नगदमा थुक्न सक्छौ
तिम्रो प्रजातन्त्रमा भन्दा स्वतन्त्र र निर्भिक भएर
आफूलाई मान्छे मान्छेमा रुपान्तरित गर्न सक्छु
००००
तिमी मौकामा शक्ति किन्छौ
म पनि मौकामा शक्ति किन्छु
तिमी त्यसलाई भोट भन्छौ
म त्यसलाई नोट भन्छु
तर, वेश्यातन्त्र तिम्रो प्रजातन्त्रमा जस्तो
उधारो आश्वासन बाँड्दैन
प्रतिशत, कमिशन बाँड्दैन
मेची कालीको बगर बाँड्दैन
बादलपारिको सगर बाँड्दैन
दशगजाको साँध बाँड्दैन
स्वाभिमानको बाँध बाँड्दैन
सन्त्रास बाँड्दैन जनतामा
बन्दूक बारुद र लास बाँड्दैन
पूर्खाको उपहास बाँड्दैन
आस्थाको सगरमाथा बाँड्दैन
सपनाको सुनको लाछा बाँड्दैन
सहीद बनाएर जनता जिउँदो
ग्राहक रुवाएर कहिल्यै राख्दैन ।