~देवी नेपाल~
माटो दुख्छ जहाँ, त्यहाँ जनहरू बन्लान् निरोगी कहाँ ?
छाती फुट्छ जहाँ, त्यहाँ मनहरू हुन्नन् विराधी कहाँ ?
मेरो गौरव खै ! अनन्त रहने पुर्खाहरूको चिनो ?
मेरो पौरख खै ! हजार पहरा फोर्ने हिजोको छिनो ?
मेरा गौतम बुद्ध आज किन हो सर्दै गए दक्षिण ?
मेरो उच्च हिमाल उत्तरतिरै झुक्ला कि झैँ भो किन ?
बस्दै छन् इतिहास भै स्मरणमा सुस्ता र त्यो लुम्बिनी
खस्दै छन् किन हो निराश हुन गै हाम्रा चिनारी पनि ?
आगो लाग्न गयो नि भानुघरमा को पढ्छ रामायण ?
जल्दै छन् अहिले मुनामदनका पाना बिहानै किन ?
टोपी सुन्दर हुन्न माथ सबको भै’गो पराई अब
मानौँ त्यो इतिहास भै सहिदको गाथा बन्यो आखिर ।
दौरा आखिर घाइते हुन गयो माग्दै छ रे राहत
चोलो रुन्छ समीपमा सहिदका आफन्तजस्तै अब
बेपत्ता परिवारझैँ हुन गए यी राष्ट्रका गौरव
पानीको बरु मूल्य भो रगतको खै मोल ! खै आदर !
आफ्नो रूप कता पुग्यो चकित भै खोज्दै छ डाँफे चरी
के भो बन्दुक हातमा लिइहिँडे सोझा परेवा पनि
गाई सिमि्रक घाइते र कुरुवा लाली गुराँसै छ रे !
मर्दै छन् सब राष्ट्रका निधिहरू नेपाल मर्दै छ रे !
मेरो जे पहिचान हो लुटिन गो ढल्दै छ सीमा पनि
मेरो उच्च विचारको धरहरा गल्दै छ नौनी बनी
मेरो सुन्दर भेष छैन सँगमा भाषा कला बाँडिए
मेरो सुन्दर देश छैन मनमा पाखा, गुफा टाडिए ।
भाषा, भेष र सभ्यता सब थिए माटो थियो सुन्दर
मेरो देश रुँदै छ आज किन हो भत्केर त्यो मन्दिर !
आफ्नो रूप हराउँदा भन तिमी विश्वास लिन्छौ कहाँ ?
मेटाई पहिचान आज मनको नेपाल चिन्छौ कहाँ ?