~रामगोपाल आशुतोष~
घामपानी घामपानी
स्यालको बिहे
घाम पनि चम्किरहेको छ
पानी पनि परिरहेको छ
किनकि यतिबेला स्यालको
जनसंख्या पनि बढिरहेको छ !!
घाम झन् चम्किरहेको छ
पसिना तप्पतप्प चुहिरहेको छ !!
यही बेला मरूभूमिहरूमा
जनसंख्या झन्-झन् बढिरहेको छ !!
घामपानी घामपानी
कुकुर जन्ती
घाम तापमान थपिरहेको छ
विरोधी नारा चुलिरहेको छ
समर्पणवादी स्वयम् रमिता रची
संविधान नाटकीय जलिरहेको छ
घामपानी घामपानी
बिरालो बाहुन
कुकुरहरू हड्डीको आशमा
रुझेरै जन्ती गइरहेका छन्
बिरालाहरू पुराका खातिर
प्रभूगान भट्याइरहेका छन् ।
पहिचानसहितको राज्य – मूर्दावाद !
जातीय प्रदेश – मूर्दावाद – मूर्दावाद !!
स्वायत्त शासन – मूर्दावाद – मूर्दावाद !!
सङ्घीय गणतन्त्र – मूर्दावाद – मूर्दावाद !!
धार्मिक सहिष्णुता – मूर्दावाद !
जातीय सद्भाव – मूर्दावाद – मूर्दावाद !!
भाषिक स्वतन्त्रता – मूर्दावाद – मूर्दावाद !!
भौगोलिक विविधता – मूर्दावाद – मूर्दावाद !!
सांस्कृतिक विविधता – मूर्दावाद – मूर्दावाद !!
राष्ट्रिय एकता – मूर्दावाद – मूर्दावाद !!
अग्रपङ्क्तिमा
एउटा अभिशप्त लोकगीत छ –
घामपानी घामपानी – स्यालको बिहे
कुकुर जन्ती – बिरालो बाहुन !!
पृष्ठभूमिमा बजिरहेको छ
एउटा कालजयी गीत –
‘चल उड जा रे पंक्षी
के अब यह देश हुवा बेगाना !!’ (कैफी आजमी)
(स्रोत : Hulaki)