~बसन्त श्रेष्ठ~
अलग अलग चेहराका
अलग अलग परम्परा
भिन्दा भिन्दै जातका
भिन्दा भिन्दै रीत
बेग्ला बेग्लै थरका
बेग्ला बेग्लै भाषाहरु
मानौ नेपाल एउटा
विशाल सँसार हो
सँस्कृति र परम्पराको
खानीको देश हो ।
तिहारको रमझम भित्र
सन्तमान गुभाजुले बाँडेको
न्हूँ दँ या भिन्तुना
बैशाख महिनाको शरुमा
हरि भट्टराईले दिएको
नयाँ वर्षको शुभकामना
अनि ल्होसार पर्वमा ल्हाक्पाले
दिएको ल्होसारको शुभकामना
लाग्छ
हामी विभिन्न जातीका
एउटै बगैचाका फूलहरु हौ
हामी थुप्रै धारणा भित्रका
एउटै मूल विचारका अस्तित्व हौं
हामी छरिएर रहेका
हिमाल पहाड र तराईका
एउटै देशका वासिन्दा हौ
सोच्छु
एउटा नेपालीको मृत्यूमा
अर्का नेपालीको मुटु दुख्छ भने
एउटा नेपालीको भावनामा ठेस पुग्दा
अर्का नेपालीको स्वाभिमान जाग्छ भने
कसैले साँस्कृतिक परम्पराको विरोध गर्दा
सम्पूर्ण नेपालीको नेपालीत्व जाग्छ भने
यो भिन्तुना
सन्तमान गुभाजुको
मात्र हुन सक्दैन
त्यो शुभकामना हरि भट्टराईको
मात्र पनि हुन सक्दैन
अनि त्यो टासी या
ल्हाक्पा लामाको मात्र पनि हुन सक्दैन
त्यसैले
नयाँ वर्षको शुभकामना
गोविन्द गिरीलाईमात्र होईन
गोविन्द प्रधानलाई पनि हो
ल्होसार पर्वको शुभकामना
नेत्र घिसिङ्गलाई मात्र होईन
लेखनाथ भण्डारीलाई पनि हो
अनि यो न्हूँ दँ या भिन्तुना
राम मालाकारलाई मात्र होईन
डि. वि. तामाङ्गलाई पनि हो ।