~दीपमाला राई~
तिमी आउने आसै भएन तिमीलाई धितोस्वरुप दिएको मेरा मुटु
जफत चाहिँ नगरीदेउ है मायालु
कहिलेकाहीँ त आफैंलाई पनि
त्यसको खाँचो पर्दोरहेछ ।
आफूझैं ठानेर तिमीमा बिसाएको मेरो आँसु
प्रत्येक वर्षात्को भेल झै नठाने है मायालु
आँसु त मुटुको प्रत्येक कुना-कुनाको
दुखाईपछि बहेको हुन्छ ।
तिमीले दिएको वाचा झुठो रहेछ
तरैपनि विश्वासले जतन गरी राखेकी छु
तिमीले मलाई बनाइदिएको महल त
केवल बालुवाको रहेछ ।
तै पनि पानीका प्रत्येक लहरहरुबाट
जोगाएर राखेकी छु ।
तिमी फर्की आउने त आसै हरायो
किनकि आफू आउने बाटो नै समेटेर गएछौं
तिमीले माया गर्छौ कि भन्ने पनि भरोसै बिलायो
किनकि आफूले दिएको वचन पनि आफै वापस लिएर गएछौं ।
प्रकाशित मिति: 2008-01-26-23:54
(स्रोत : Americadarpan)