~राजन काफ्ले~
मैले शब्दहरुको बरदान पाएकोछु
मस्तिष्कका डालाभरी शब्दका बिऊहरु छन्
र बाह्रै मास उजाड खेतभरी शब्दहरु छरेर
शब्दै शब्दहरुको खेती गर्छु
म शब्दहरुको बाली काट्छु
म शब्दहरुको खसी पाल्छु
अनि शब्द-भोज बोलाएर
शब्दैशब्दको मासु-भात पकाएर
आफ्नो भोक मेट्छु र
शब्दभोगीहरुलाई तृप्त पार्छु
मैले लेखेका शब्दहरु
शेक्सपिएरका सबै नाटकमा भन्दा बढि होलान
मैले बोलेका शब्दहरु
मण्डेलाका सबै भाषणमा भन्दा बढि होलान
शब्दहरुमा म बुद्धभन्दा शान्तिप्रिय छु
चे ग्वेभारा भन्दा क्रान्तिप्रिय छु
शब्द चढेका बेला म जो’नी बन्दिन्छु
शब्द लागेका बेला म जे’नी गर्दिन्छु
शब्दहरुले मैले पमाणपत्र पाएँ
प्रसंशक/आलोचक र प्रेमिका पनि पाएँ
शब्द मेरो बाँसुरी हो र यसैलाई बजाएर
मैले आफ्नो भजन गाएँ र जगलाई सुनाएँ
***********************************
फर्केर हेर्छु – आफूले तय गरेको शब्दको दूरी
धेरै दूर छ, अनि आँफैलाई हेर्छु
म जहाँको तहिं छु
स्थिर छु र अहिले एक्लो छु
मेरा शब्दले होमरको ‘ओडिसी’ लेखिएन
मेरा शब्दले लिंकनको ‘डिमक्रेसी’ देखिएन
मेरा शब्दले श्रीमतीको आकांक्षा मेटिएन
मेरा शब्दले जिन्दगीको भाका भेटिएन
न त कसैको आलो घाउमा मल्हम दल्यो
न त कसैको चिसो चुल्होमा आगो बल्यो
न रुन्चे ओंठमा हाँसो छर्न सक्यो शब्दले
न फुस्रे कोटमा बिटो भर्न सक्यो शब्दले
मसंग कर्मको खेती गर्ने जाँगर थिएन
खुशी बाँड्ने र हाँसो साट्ने अवसर थिएन
त्यसैले शब्दहरुसंग रौसिंदै र रत्तिंदै गर्दा
सिर्जनशिल वयले कोल्टे फेर्नै लागेछ
फगत रित्ता शब्दहरुको यही पोको छाडेर
(स्रोत : रचनाकारको ब्लगबाट सभार )