~सुनीता खनाल~
परेवाले गुँड बनाउन
चुच्चोले च्याप्दै त्यान्द्रात्यान्द्री
झिँगल्टा बटुलेझैँ
खाडीमा पसिना बगाउँदै काटिएको हातबाट
रगत पसिनाले माटो मुछेर बनाएको घर
सपनामा रङ पोतेर बनाएको घर
एक्कासि ढल्यो !
घर ढल्यो, रहर ढल्यो
बिपना त ढल्यो ढल्यो सपना पनि ढल्यो
घर
जहाँ मेरा सपनाहरू सुरक्षित थिए
जहाँ परिवारका खुशीहरू सुरक्षित थिए
सामाजिक आस्था सुरक्षित थियो
छोरीको बार्बी डल सुरक्षित थियो
छोराको फुटबल सुरक्षित थियो
सबैको नजरबाट जोगाई जतनसाथ साँचिराखेको
पुराना प्रेमपत्रहरू सुरक्षित थिए
मादल सुरक्षित थियो, गुन्यूचोलो सुरक्षित थियो
मेरो संसार सुरक्षित थियो
जब घर सुरक्षित थियो ।
अचानक भत्कियो भित्ता
– जहाँ भगवानको फोटो थियो
अचानक ढल्यो खाँबो
– जसले थामेको थियो जीवनको अर्थ
अचानक खस्यो छानो
– जसले ओतेको थियो सारा दुःख, मेरा सुख ।
जब घर भत्कियो
घरसँगै भत्कियो
मैले आफ्नै हातले बनाएको संसार
छानोजस्तै चुहिने भो आँखा
र, बग्यो धमिलो नदीजस्तो जीवन
पुरियो जीवनका उत्सव
र, पुरियो छोराको किताब पनि
आमाले बालिराखेको बत्ती पुरियो
मालासहित बाबाको तस्बिर पनि पुरियो
र, सँगै पुरियो मेरो सिंदूरको बट्टा पनि !!!
जब घर खडा थियो
जिन्दगीको माने खडा थियो
जिउनुको रहर खडा थियो
सङ्घर्षको टोपी खडा थियो
गाउँघर, छरछिमेक, आफन्त
खडा थियो सम्बन्धको शिर
भगवानको नाम खडा थियो
समाज खडा थियो, देश खडा थियो ।
घर ढलेपछि
सब ढल्यो ।
घर ढलेपछि नै
चिनेको हुँ रगतको नाता
थाहा पाएको हुँ आफन्तको रङ
गाढा हुन्छ कि पातलो, बलियो हुन्छ कि कमजोर
कस्तो हुन्छ पराईको मन !
जब घर ढल्यो
पुरियो तमसुक, घेरे साहुहरूले
पुरियो लालपुर्जा, घेरे दलालहरूले
पुरियो नागरिकता
र, बन्द भयो सपना हिँड्ने बाटो ।
ढलेको घरभित्र
छोरो किताब खोजिरहेछ
जहाँ पढ्थ्यो ऊ घरको बहादुरी
रिबन खोजिरहिछे छोरी
जसले बाँध्थी ऊ छरिएका रहरहरू
आमा बत्ती खोजिरहिछन्
जसले पार्दथ्यो घर उज्यालो
कलम खोजिरहेछु म
जसले लेख्थेँ घरको कविता ।
ढलेको घरभित्र खोजिरहेछु सारा खुशी
धूलोले खै कता पुर्यो ?
खोजिरहेछु घरको अस्तित्व !!
(स्रोत : Hulaki)