~रश्मिला कवाङ~
प्रत्येक कोणकोणभित्र वीरता
पानीको हर बुँदामा ऐतिहासिकता
तापनि हरेक योद्धाहरुबीच रहेर पनि
तिमीले जस्तै म गोली थाप्न तयार छैन
नालापानीमा तिमीले देखाएको अदम्य साहस
मन, मुटु छेदन घमासान युद्ध
अहँ म देख्नै सक्तिनँ
तिम्रो समर्पणको भावले म पग्लिन सक्तिनँ
किनकि,
म त विश्वलाई नै प्यारो ठान्छु
जबजब तिम्रा ती गौरवगाथा गुञ्जिन्छन्
तब म भित्र जिजीविषा पलाउँछ
नेपाली राष्ट्रियताको लागि
अनि नेपाली अस्तित्वको निम्ति
अहँ म आफूलाई त्याग्नै सक्तिनँ
तर तिम्रो स्वाभिमानलाई श्रद्धा गर्छु म
मानवतावादी धारा र वीरतामा
म जीवन व्यतीत गर्न सक्तिनँ
किनकि,
मेरो रगतमा वीरताको कुनै उम्लाइ छैन
संहारमा जीवन हवन दिने जाँगर छैन
तिमीले जस्तै मातृऋण चुकाउन सक्तिनँ
त्यसैले हे अमर योद्धाहरु
तिम्रो समर्पणको निम्ति रगतमा मुछिन सक्तिनँ
नालापानीमा आज म झुक्न सक्तिनँ
आफू पग्ली अरुलाई उज्यालो दिन सक्तिनँ
अहँ म सक्तिनँ
किनकि, गरीब, बेरोजगारी, विपन्नता अनि तिरस्कारबाट
पिल्सिएको यो मन
सामाजिक अन्याय, अत्याचारविरुद्ध
कठोर र क्रान्तिकारी चरित्र बोकेको यो मन
सदा न्याय, स्वतन्त्रता, सम्मान र स्वतन्त्रताको
वकालत गर्ने यो सशक्त आवाज
तिम्रो वीरताको अगाडि झुक्न सक्तिनँ
अहँ म झुक्न सक्तिनँ !!!
रश्मिला कवाङ, भक्तपुर
(स्रोत : Majdoor)