~ज्ञान उदास~
मुलुकमा पत्रकारहरूले कुटाइ खाँदा होस्
निर्दोष कलिलो विद्यार्थी अपहरणमा पर्दा होस्
तुइनको तार छिनेर
निर्दोष नेपाली जनताको अनाहकमा
ज्यान जाँदा होस् ।
अथवा
गरिबीको मार सहन नसकेर
आफ्नो मुटुका टुक्राहरूको
भोको पेट
अनि, आफ्नो पनि नांगो र खाली पेट बोकेर
आमाले नदीमा
जीवनको सामूहिक बिसर्जन गर्दा होस् ।
अथवा
दोहोरी साँझ, रेस्टुरेन्ट वा
सहरका ब्युटीपार्लरहरूमा
विवशताले चेलीहरू
नांगिएका
लुटिएका
चिमोटिएका
दर्दनाक दृश्यहरूमा होस् ।
अथवा
पहिरो बाढीबाट
आफ्ना देशका जनताले
बिनासित्ती ज्यान गुमाउनुपर्दा होस् ।
सरकार निरीह छ, लाचार छ
ऊ केही बोल्दैन
मात्र टाउको हाल्लाइरहन्छ ।
गणतन्त्र आएपछि
नेपाली जनताले
कल्पना गरेको अलौकिक नयाँ नेपाल
सुख, शान्ति र अमनचैनका सपनाहरू
कालो बाढीले बगाउँदा पनि
सरकार नभएको देश जस्तो
यहाँ सरकार बोल्दैन
उसको मुखै छैन
उसको मुटु ढंुगाको छ
उसलाई अलिकति पनि दुख्दैन
मात्र टाउको हल्लाइरहन्छ ।
प्रकाशित: वैशाख २१, २०७१
(स्रोत : नेपाल साप्ताहिक)