कविता : मेरो देशको नाम के हुनेछ ?

~नव बिहानी~Naba Bihani

ए हो त
पहाडले जहिल्यै
तराईमाथि शासन गरेकै त हो

मध्यछाती चिरेर महेन्द्रले
वारपार राजमार्ग बनाउँदा
कत्ति दुःखेछ तराईको चित्त
त्यतिका धेरै उद्योगहरुले
दरफर्याउँदा तराईको छाती; उफ् मुटु मधेशबाट
भक्कानिएर त्यसै त्यसै
सामन्ती राजा मूर्दावाद
चुहिएको हुनुपर्छ

हो त
पञ्चायत पक्षपाती भएकै हो
राजाले विभेद गरेकै हुन्
नभए तराई उफ् मुटु मधेश !
आज दिनदिनै गणतन्त्रको शिकार
हुनुपर्ने थिएन कि !

हाय !
कस्तो अन्याय ! कस्तो विभेद !
धन्न ल्याइदिए छिमेकीले
गणतन्त्र ; मान्छे मार्ने साँचो
धर्मनिरपेक्षता ; मान्छे मार्ने हतियार
संघीयता ; विभेदको श्रीगणेश

बिचरा लाटा हिमाल र पहाडहरुलाई
पञ्चायतले कमसेकम
जोगाएकै हो

खनिदिएको भए तराईजसरी वारका पार
सायद,
मनमोहक गुफाहरुभित्र
हुइँकिरहेका हुनेथिए कि रेलगाडीहरु !

धन्न सकुशल छन्
नभए त
यिनीहरुले पनि आन्दोलन गर्नुपर्थ्यो
तराईले झैं –
आन्दोलनमा मर ५० लाख दिन्छु भनेर

मलाई त आजकल त्यस्तै लाग्छ –
छुच्चा सामन्ती पृथ्वीनारायणलाई
किन नेपाल बनाउनुपरेको ?
पहिल्यै लिम्बूवान छोडिदिएको भए,
पहिल्यै नेवा भन्दिएको भए
के जान्थ्यो !
आज कोतपर्वको ईतिहास पढ्नुपर्ने थिएन
पञ्चायत सहनुपर्ने थिएन
१० वर्ष लगाएर १८ हजार जनता मार्नुपर्ने थिएन

उहिल्यै आएको हुने थियो गणतन्त्र, संघीयता
र उहिल्यै
मुख्यमन्त्री भइसकेका हुने थिए बीपी, पुष्पलाल र गणेशमानहरु
पालैपालो सूर्यबहादुर, गिरिजा, प्रचण्ड, बाबुराम, नेपाल र ओलीहरु

बित्थामा नेपाल बनाएर
सामन्ती राजतन्त्रले २३९ वर्षसम्म निरन्तर
नेपाली बनाइराख्यो अफसोच !

सबै सामन्ती अवशेष चिर्दै
दिल्लीमा खाइएको शपथग्रहण
यही आउँदो ३ गते नयाँबानेश्वरबाट
सिंहदरबार हुँदै देशैभर लागू हुनेछ…

हामी सामन्ती सत्ताबाट मुक्त हुनेछौँ
हामी स्वायत्त हुनेछौँ
तर थाहा छैन
मेरो देशको नाम के हुनेछ ?

(स्रोत : Hulaki)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.