सत्य कथा : निर्दयी प्रेमीको विश्वासमा पर्दा

~कालीगंगा~Kali Ganga

सांझ पर्न थाले देखिनै सुशीलामा छट्पटाहट सुरु भएको छ । उनी भोलिको स्वर्णिम विहानीमा वाल रविकिरण वृक्षहरुका पातमा ठोक्किएर धरतीमा छरिनु पूर्व झिसमिसे उज्यालोको अधैर्यतापूर्वक प्रतिक्षामा छिन् । नहोउन पनि किन ? केहिबेर पहिलेमात्रै डिक्सनले उनलाई घरैमा आएर पहेलो सुन्तला रंगको कुर्ता सुरुवाल कालो स्वीटर र कालो चन्नी लगाएर सवेरै ३ वजे आउनु र भागेर विवाह गरौंला भनेर गएका छन् । त्यो आउने भोलि आफ्नो प्रेमीसंग बैवाहिक जीवनको शुभारम्भ गर्दैछिन् सुशीला । त्यसैले भोलिको स्मरण मात्रले उनको हसिलो अनुहारमा थप चमक आएको छ । उनलाई न निद्रा न भोक छ न तीर्खा । मन चन्चल छ ।

छोरीकॊ सांझै देखिको अस्वाभाविक आत्तुरी र हतारलाई नियालिरहेकी आमाको मनमा केहि चिसो त पस्छ तर भोलिको अनहोनीप्रति अनभिज्ञ छिन उनी । रातको एक बजे तिर सुशीलाले आमालाई प्रसाधनकालागि बाहिर लगेर जान्छिन् । आमा छोरीको नियमितता हो यो । प्रसाधन पश्चात केहिबेर सम्म सुशीलाको कोठामा बिजुलीको उज्यालोलाई पछाईरहेकी आमाका आंखा कतिबेला लागे उनलाई पत्तै हुदैन । आमा निदाएको थाहा छ सुशीलालाई ।

उनले विस्तारै पहेलो सुन्तला रंगको कुर्ता सुरुवाल पहिरिन्छिन् । त्यस्माथि कालो स्वीटर र कांधमा कालै रंगको चुन्नीको सप्को हाल्छिन् । अग्ली कसिलो जीउडालकी सुशीला सुन्तला रंगको कुर्ता सुरुवाल र कालो चुन्नी र स्वीटरमा धपक्क बलेकी छन् । ऐना सामु उभिएर आफुले आफैलाई नियाल्छिन् र मुस्काउछिन् । क्षणभर सुशीला कल्पनाको सागरमा डुबुल्की मार्छिन्- ‘मेरो डिक्सनलाई मैले पहेलो सुन्तला रंगको कुर्ता सुरुवाल कालो चुन्नी र कालो स्वीटर पहिरिएको कति मन पर्छ ।’ मनमनै सोच्छिन्- ‘मैले व्यर्थैमा के के सोंचे मेरो राजालाई…

सुशीलाको दृष्टि भित्ताको घडीमा पर्छ- तीन बज्न केहि मिनेटमात्र बांकी छ ।’ उनी वरपर चियो गर्दै विस्तारै घरबाट बाहिर निस्किन्छिन् । बाहिर छिप्पिएको अध्यारो नभएपनि त्यति उज्यालो पनि भैसकेको छैन । दिनहुं हिडी राखेको मुल सडक सारैसारमा हिड्न सक्छिन सुशीला । धेरै टाढा पनि त छैन । फेरी आजको कुरा त अर्कै छ । त्यसैपनि उनको शरीर उडेको छ । उनी सोच्छिन- ‘डिक्सन त मिलनेर आएर मलाई कुरेर बसेको हुनुपर्छ ।’ उनका पाईला चांडो चांडो अघि सर्छन् ।

‘डिक्सन भन्दा म पो छिटो आईपुगेछु’ गन्तब्यमा पुगेपछि सुशीलाका आंखाले वरपर नियाल्छ अलि पर डिक्सनको आकृति देख्छिन । मिनेट भरमै डिक्सन सशरीर सुशीला सामु उभिन्छन् । सुशीलाले सोध्छिन्-‘ किन ढिला भयो ?’ ‘जाडो छ अलि ढिला भयो ।’- डिक्सनले जवाफ दिन्छन् । ‘पछिपछि आउने कोहो त ?’ सुशीलाले अर्को प्रश्न थप्छिन ।’राजलाई मैले साथी ल्याएको …।’ संक्षिप्त उत्तर आउछ डिक्सनको ।सुशीलालाई अंगालो मार्दै अगाडी बढ्छन डिक्सन । डिक्सनको सन्निकटताले सुशीलालाई उर्जामात्र मिलेको छैन सदाको लागि डिक्सन मेरो भयो भन्ने खुशीले उनको पाउ धरतीबाट एक फिट माथि उडेको अनुभूति भएको छ ।

सुशीला गल्कोट बहुमुखी उच्चमाविमा कक्षा १२ मा पढछिन् । रुपले मात्र नभै सुशील स्वभावका कारण पनि सुशिला साथीहरुवीच पि्रय छिन् । गाउँघर छर छिमेकमा चर्चाकी पात्र बनेकी छिन् सुशीला । उनको सामिप्यता नचाहने नत कुनै केटाहरु छन् न केटीहरु । सहपाठी साथीहरुवीच मात्र नभएर बाहिर छरछिमेकमापनि उनको सौन्दर्यको चर्चा परिचर्चा नभएको त दिन नै हुदैन । सबैको आंखाकी नानी बनेकी सुशीलाका आंखा भने आफुसंगै पढने एक सरल सहपाठी डिक्सनमा टिकेको हुन्छ । सधै संगै अध्ययन गर्ने सहपाठीसंग बेलाबखत आंखा जुध्नु संगसंगै िहंडदा शरीरको स्पर्श हुनु अस्वाभाविक होईन तर सुशीलाको डिक्सन प्रतिको हेराई अर्थपूर्ण छ, लोभायमान छ । सुशीला बालिका छैनन्, उन्निस वर्षको जवानीमा दौडिरहेकी छिन् । विपरीत िलंगीप्रतिको आकर्षण यस उमेरमा स्वभाविक हुन्छ । यहि मानवीय ईच्छा र चाहनालाई साकार रुप दिन ०६६ सालको जेठ महिनामा उनले डिक्सनलाई एसएमएस पठाउछिन्- ‘म तिमी संग love गर्छु । क्लासमा सबै भन्दा तिमी अशल र राम्रा छौ…।’
सबैकी आंखाकी नानी सुशीलाको यो सन्देशले डिक्सनको मुटुको धडकन बढाउछ । उनलाई पत्याउन गाह्रो पर्छ ।

बारम्बर यस्ता सन्देशहरु प्रवाहित भएपछि डिक्सनपनि सुशीलाप्रति आकर्षित हुन्छन् । समय वित्दै जान्छ दुई किशोर वीचको दुरी नजिकिदै जान्छ । मायाँ प्रीतिको धागो कसिदै जान्छ । कक्षा कोठा र िहंड्दा डुल्दा एकार्कालाई चिहाउने नजरहरु सामिप्यमा जुधाउन लालायित हुन्छन । एकापसमा मनका कुराहरु पस्कन हतारिन्छन् । उनिहरुले बुझेका छन्- ‘प्रेम कहिल्यै कुनै प्रश्न सोध्दैन ।’ तिर्खा लागेपछि कुवाको खोजी त गर्नै पर्छ । बिद्यालयमा फुस्रद मिल्दासाथै डिक्सन र सुशिला हटिया बजार कै रणसिङ किटेनी होटेलमा नास्तापानी गर्न जाने सिलसिलाको प्रारम्भ हुन्छ । होटेल नै किन नहोस नास्तापानी गर्दा आमने सामने त भइन्छ नै । नजिकैबाट एकले अर्कालाई परखन सकिन्छ, धितमर्ने गरी हेर्न सकिन्छ । एउटै बेन्चमा टांसिएर बस्न सकिन्छ । असोज महिना सम्म आईपुग्दा यो युगल जोडी संगै जिउने साथै मर्ने थुप्रै वाचाबन्धन गरिसकेको हुन्छ । अनि उनिहरु अब वाचा वन्धनकॊ समय सीमा तोक्ने तरखरमा देखिन्छन् । १९ वर्षका यी युगल जोडीलाई महसूस हुन्छ- ‘होटलको नास्तापानीलॆ जसरी पेटको भोक मेटाएको छ’ त्यसरी नै दिनहुंको शारीरिक निकटताले जवानीको प्यास पनि जगाएको छ । होटेलमा जानु, नास्तापानी गर्नु, गफ हांक्नु, एकापसमा जिस्कनु, मोबाईलमा एसएमएस पठाउनु, कुराकानी गर्नु मात्र उनिहरुको गन्तव्य हुन सक्तैन ।’

वासनाले मानिसलाई अन्धो बनाउछ । वर्षाको भेललाई रोक्न जति गाह्रो हुन्छ त्यति नै जवानीको उर्लदो बेगलाई रोक्न धौ धौ पर्छ । जहां ईच्छा त्यहां उपाय डिक्सन र सुशीला होटेलको माथिल्लो तलाको कोठामा नास्तापानी गर्ने व्यवस्था मिलाउछन् । भनिन्छ पुरुषले चाहेर वर्ष दिनमा नहुने काम महिलाले चाहे एक मिनेटमा फत्ते हुन्छ । वर्षाले उर्लेको खोला र नारीको आशक्तिले कुनैपनि मर्यादालाई उल्लङ्घन गर्नसक्छ । सुशीलाको आत्तुरी र डिक्सनको लिप्साले सामाजिक मुल्य मान्यता र मर्यादालाई क्रमभंग गर्दै लगनगांठो बांधिनु अघि नै दुई जीउ एक हुन्छ । अनि प्रारम्भ हुन्छ चरमानन्द प्राप्तिको सिलसिला । असोज गयो, कात्तिक बित्यो, मंसिर सकियो, पुष आयो, डिक्सन सुशीलाको मायांप्रीतीका कुरा संगीसाथीहरु बीच मात्र नरहेर उनिहरुका बाबुआमाका कानमा पनि पुगी सकेको हुन्छ । सुशीलाका बाबुआमालाई चित्त बुझाउने ठाउ छ- ‘उच्च कुलघरानाको धनी परिवारको छोरासंग छोरीको मायाप्रीति बसेछ ।’ तर उतातिर डिक्सनका आमाबाबुलाई भने छोराको रोजाई प्रति सन्तुष्टी छैन- ‘जातपात, स्तर र हैसियत मिल्दैन ।’ पुष महिनाका दिनहरु बित्दै छन् । यस्तैमा सुशीलाले डिक्सनलाई भन्छिन- ‘हेरत पुषको १५ गते पछि मेरो महिनावारी भएन, बच्चा छ कि क्याहो ।’

त्यसो त नहुनु पर्ने हा, डिक्सन सजिलैसंग भन्छन- ‘स्वास्थ केन्द्रमा गएर चेक गरौंला, गर्भ रहेको भए फालौंला ।’सुशीलाले डिक्सनबाट अपेक्षा गरेको जवाफ यो होईन । उनलाई यो मन पर्दैन,- ‘गर्भपतन त गराउन्न बरु चांडै विवाह गरौं । जति ढीला भयो उति नराम्रो हल्ला हुन्छ ।”गर्भ भए नभएको जाच्नलाई के भयो त ? जाउन स्वास्थ चौकीमा ।’- डिक्सन नरम हुन्छन् । पुषको २३ गते डिक्सनले सुशीलालाई मोटर साइकलमा राखेर हरिचौर स्वास्थ केन्द्रमा लैजान्छन । अर्कैको नाममा सुशीलाको चेक जांच गराउदा गर्भ रहेको देखिन्छ । तर त्यतिबेला डाक्टर बागलुङ सदरमुकाम गएको मौका परेकोले डिक्सनको मनको कुरा मनमै रहन्छ । तर उता…। उता, सुशीला भने डिक्सनमा आएको परिवर्तनबाट सशंकित छिन् । हिजो र आजको डिक्सनमा धेरै अन्तर मापन गर्दैछिन उनी । कल्पनाको रेशमी डोरी समातेर यति टाढा आईपुगेकी सुशीलाको मनमा आशंका उब्जिन्छ- ‘कतै ईन्द्रधनुषी सपना चकनाचूर हुनेत होईन ।’ शंकालु पे्म र अव्यवस्थित मन कहिल्यै शान्त हुदैन । सुशीलाको अशान्त मनमा शंका उपशंकाहरु उब्जिरहेका छन्-‘गर्भपतन गराउन लगाएर सदाका लागि छुटकारा लिन खोजेका त छैनन् डिक्सन ।’

तिमीले त सुशीला एकदम नै सोझो केटा पायौं । धनी छन राम्रा छन सुशील छन । तिमी त भाग्यमानी रहिछौ … …अब चांडै विवाह गर ल…।’ धन कुमारीले भन्दा आफु गजक्क परेको सम्झिन्छिन सुशीला । धनमात्र कहां हो र अरु थुप्रै संगीहरुले उनलाई नगिज्याएका होईनन्- कति केटीहरुले डिक्सनलाई मन पराएका छन् तर तिमीसंग प्रेम बस्यो । बधाई छ…… ।’उनले सोधेकीपनि हुन- ‘डिक्सनलाई क कस्ले मन पारेकाछन् त ?’सपना, विपना क कस्को नाम भनौं…। सपनालाई त डिक्सनले पनि मन पार्छन रे । तिमीलाई छाडेपछि बल्ल आउछु पनि भनेकी रे …॥’संगीहरुका यी कुरा पुनःस्मरण हुन्छ उनलाई । उनको अस्थिर मनले सोच्छ ‘कतै डिक्सनले बीच बाटोमा छोडिदिने त होईनन् ?’ यहि चिन्ताले पिरोलेको छ । तर उनी दृढनिश्चयी बनेकी छिन् । सुशीलामा मातृत्व भावना जागृत भैसकेको छ= ‘गर्भपतन त किमार्थ गर्दिन ।’यही बहसलाई टुंगोमा पुराउन एक दिन सुशीलाले डिक्सन सामु प्रस्ताव राख्छिन- ‘अब हामी विवाह गरी लोग्ने स्वास्नी भएर बसौं । होईन भने…… ।’ उनले बाक्य पुरा गर्न नपाउदै डिक्सनले प्रतिप्रश्न गर्छन- ‘होईन भने के त ?’ हाम्रो बेइज्जत हुन्छ गाउललॆे कुरा काट्छन मुख देखाउन पनि लाजमर्नु हुन्छ सशीलाले बाक्य त पुरा गर्छिन् तर डिक्सनको यो रुखो प्रतिप्रश्नले उनको हृदयमा आघात पुग्छ । उनका आंखाबाट बरबर आंशु झर्छन् मलाई बितरा पार्न खोज्छौ तिमी । मैले तिम्रो बुबालाई सबै भनिदिन्छु ।

नारीका आंशुले तरवार र ढाल दुबैको काम गर्छ । नारी समर्पणमा अमृत र बिद्रोहमा महाविष हुन्छे । फकाई फुलाई जसरी हुन्छ गर्भपतन गराउन सुशीलालाई राजी गराउनै पर्छ । होईन भने…… अर्को बिकल्प के हुनसक्छ डिक्सन सोंच्दैछन् । सुशीला विवाह नगरी नमान्ने अडानमा अडिग विवाह गरौं आमाबाबुले हामी ठकुरी उच्च जाति उ क्षेत्री तल्लो जाति भनेर नस्वीकार्ने घरमा बस्न नदिने आफ्नो आम्दानी केहि छैन िकंकर्तव्यबिमूढ छन डिक्सन । गर्भपतन र बिवाह दुई धारवीचको दुरी निरन्तर बढिरहेको छ यो युगल जोडी वीच । हटिया र हरिचौरलाई दुई चिरा पारेर बिचबाट बग्ने दरम खोला पारीका डिक्सन र वारीकी सुशीला । दुई किनाराका यो जोडीको मिलन संभव छ त्यस्को निम्ति समयलाई पर्खनु नै वेस हुनेछ ।

कता आपुनो कर्तूत जगजाहेर हुन्छ भन्ने जलत्रासले डिक्सन सुशीलालाई कसरी थामथुम पार्ने भन्ने सोंचमा हुन्छन । कसैगरेपनि गर्भ फाल्न सुशीला मान्दिनन् भन्ने पक्का विश्वास भैसकेको छ डिक्सनलाई । समस्याको समाधानको खोजीमा रहेका डिक्सन सुशीलालाई माघ १७ गते भागेर जाने विश्वास दिलाउछन् । सुशीलाले खोजेको त्यहि नै हो । अब उनी राजी र खुशी छिन् । तर माघ १४ गते डिक्सनले सुशीलालाई फोन गरेर बुबामुमा बुटवल जाने भएकाले १७ गते भागेर जान नपाईने कुरा बताउछन् । हतारिएकी सुशीलालाई डिक्सनमाथि शंका झन बढछ । उनले डिक्सनको बुबालाई फोन गर्छिन तपाई डिक्सनको बुबा बॊलेको हो हो म डिक्सनको बुबा बोलेको हो किन फोन गरेको म भोलि भन्छु । भन्दै सुशीलाले फोन राख्छिन र यहि कुरा उनले डिक्सनलाई सुनाउ छिन् । कुनैपनि बेला सुशीलाले बुबालाई पोल खोलिदिन्छिन सम्झदैमा डिक्सन अत्तालिन्छन् । पापको घैंटो फुटे सत्यानाश हुनसक्छ । सुशीलाको शंकालाई मत्थर पार्न जरुरी छ डिक्सनलाई । डिक्सन सुशीलालाई विश्वास दिलाउछन् माघ २० गते विहानै विवाह गर्नलाई पोखरा तर्फ भागौं । डिक्सनको कुरामा सुशीला विश्वस्त हुन्छिन् । भनिन्छ नारीको कोमल मनमा धेरैबेर कुरा अडिन पाउन्न । उनले आफुसंग मिल्ने संगी धनीलाई कसैसंग नभन्नु ल भन्दै डिक्सनसंग २० गते भागेर जाने सल्लाह भएको सुनाउछिन र हलुंगो मन लिएर फुरुंग पर्दै घरतिर लाग्छिन् ।

छोरी सुशीलालाई प्रसाधन पश्चात कोठामा सुताएर राति एक डेढ बजे तिर निदाएकी आमा ब्युंझिदा उषाको प्रथम अरुणिमाले आकाशलाई छोई सकेको हुन्छ । लामा, लामा पाईला हस्याङ फस्याङ गर्दै घर आई पुगेका आपना लोग्ने नर बहादुर बोल्न नपाउदै उनले सोध्छिन्- ‘योग नगरी किन फरक्कै फर्कनु भयो ?’ ‘योग गर्न हटिया जादै गर्दा मिल नेर एडीबीको मोटर बाटोमा एउटी केटी रक्ताम्य भएर पल्टेको देखें सुशीला जस्तो लाग्यो । चांडो कोठामा हेरत, छ कि छैन ?’कोठाबाट बाहिर निस्कदै उनले भन्छिन्- ‘कोठामा त ,सुशीला छैन ।’ अनेपेक्षित घटनाको आशंका दुबैजनामा पलाउछ । दुबैजना घटनास्थल तिर दौडिन्छन् ।

एक कान दुई कान मैदान, घटनाको खबर चारैतिर फैलिसकेको हुन्छ । मानिसहरुको भीड बढ्दै छ । सबैले जिब्रो काढछन- ‘त्यो निश्चल शरीर सुशीलाको नै हो ।’कुण्डकुण्ड पानी मुण्डमुण्ड बिचार । सबैका आ-आफ्ना तर्क र आशंका छन् । सबै आ-आफ्ना किसिमले कानेखुसी गर्दैछन् । जति मानिस’ उति कुरा । कसको कुरा सहि कसको गलत । यो पनि समयलाई नै छोडौं सुनौ मात्र ।’कस्ले मारे होला ?’ एकजनाले छेउमै उभिएर निर्जीव सुशीलाको लास हेरिरहेका छिमेकीसंग कानेखुसी गर्छन् ।’गणेश मल्लको छोरासंग लभ छ रे भन्ने त सुनेको हो ।’ अर्काले कानेखुसी गर्छन्- ‘यसलाई अरु केटाहरुले पनि मनपार्थे, मानिन होली यस्तो हालत बनाई दिए …।’ पेटमा गर्भ पनि थियो रे कसले मारेको हो ? कसरी थाहा पाउनु…’ अर्काले कानमा खुसुक्क भन्छन् ।’आज डिक्सन र सुशीला भागेर बागलुङ तिर जाने र विवाह गर्ने कुरा हो,’ एक संगीले अर्की सगीको कानमा फुक्छिन्-‘त्यसै कुरामा विवाद परेर यस्तो भएको हो कि ?’ अर्कीले शंका गर्छिन् …’त्यति सोझो छ डिक्सन । उसले त यस्तो गर्नै सक्तैन । यिनीहरुवीच कस्तो गाढा पे्म हो । सुशीलाले त हातमा डिक्सनको नाम पनि खोपाएकी छ ।’सहपाठीहरु कानेखुसी गर्दैछन्, ‘यसरी जघन्य र निर्दयतापूर्वक सुशीलाको हत्या डिक्सनले गर्छ भनेर कसैले पत्याउदैनन । डिक्सन भन्दा त सुशीला बलियी छ क्यारे…सुशीलाको यो हाल बनाउने अरु नै छन । कसैको मुखारबिन्दुबाट सासैसासमा निस्कन्छ १९ वर्षको केटाले यस्तो जघन्य अपराध कहां गर्न सक्छ यहां अरुको बिचारले काम गरेको हुनुपर्छ । अभिभावकको पनि संलग्नता हुनसक्छ । त्रिकोणात्मक प्रेमले पनि हत्या गरिएको हुनसक्छ ……’ कसैको यस्तो पनि अनुमान छ ।

सुशीलाको निर्जीव शरीर हेर्न हटियामा उर्लेको मानव सागर बिच यस्तै कानेखुसी चलिरहको हुन्छ । सुशीलाको निष्प्राण देह सडकमा लम्पसार छ । बाबुआमा छोरीको लासमाथि अर्धमुर्छित अवस्थामा घोप्टिएका छन् । उनिहरुका नेत्रदेखी प्रवाहित अश्रुधाराले सुशीलाको निष्प्राण शरीर निथ्रुक्क भिजेको छ । यो कारुणिक दृश्यले उपस्थित सबैका आंखा जलजल बनेका छन् । एकैशव्दमा भनौंभने यस दुखद घटनाले गल्कोट उपत्यकानै शोकमग्न बनेको छ ।

जतिजति दिन छिपिदै जान्छ उतिउति मानिसहरुमा यस दर्दनाक वीभत्स हत्याकाण्डका दोषिका वारेमा जिज्ञासा बढिरहेको हुन्छ । प्रहरीले अनुसन्धानको सिलसिलमा शंकाका दायरामा आएका व्यक्तिहरुसंग सोधपुछ गर्दैछ । सबैको शंकामा परेका सुशीलाका प्रेमी डिक्सनलाई प्रहरीले नियन्त्रणमा लिन्छ ।माघ २१ गते सुशीलाको बीभत्स हत्याको दुखद घटनाबाट मर्माहत बनेका सहपाठी,स्थानीयवासी, छरछिमेकीहरु घटनाको छानविन र हत्यारामाथि कार्वाहीको मागगर्दै नाराजुलुस सहित हटिया बजार परिक्रमा गरिरहेका छन् । शिक्षण सस्था बन्द छन् । बजार बन्द छ । स्थिति तनावपूर्ण छ । बिस्तारै प्रदर्शनकारीहरु हत्यारालाई सार्वजनिक गर्न माग गर्दै प्रहरी चौकी तिरबढछन् । प्रहरी चौकीमा डिक्सन राखिएको जनतामा विश्वास छ । त्यसैले जनसागर अभियुक्त डिक्सनलाई सार्वजनिक गर्न माग गरिरहेको छ । कतै हत्यारा छोडिन्छ कि भन्ने आशंकाले जनमानस उत्तेजित बन्दै गएको छ । प्रदर्शनकारीहरुको आक्रोसलाई हॆर्दा डिक्सन भेट्टिएमात्र उसमाथि बज्र प्रहार हुन्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । प्रहरीले भीडलाई तितरबितर पार्न हवाई फाएर गर्छ । उत्तेजित प्रदर्शनकारीलॆ प्रहरी चौकीमा ढुंगामुढा गर्छन्, तोडफोड गर्छन, धावा बोल्छन् । प्रहरी सुझबुझका साथ जनसागर समक्ष प्रस्तुत हुनु नै अर्को अप्रिय दुर्घटना हुन नपाउनु हो । एक अवला नारीको नृशंस हत्याको बिरोधमा निस्केकॊ जनआक्रोस हुनसक्छ यो । मानिसको शरीर, अनुहार, बोलिचालीले मात्र उसभित्र छिपेको अपराधजन्य प्रबृत्ती थाहा पाउन कठीन नै पर्दोरहेछ भन्ने महसूस भएको छ गल्कोटवासीलाई । हिजोसम्म सुशील देखिने डिक्सनको अनुहार आज जघन्य अपराधीको रुपमा आम गल्कोटवासीको मानसपटलमा अंकित हुन पुगेको छ ।

बागलुङ जिल्लाको पूर्वपश्चिम राजमार्ग मानिने १०४ किलोमिटर लामो एडीबीको ऋणमा बनेको बागलुङ बुर्तिवाङ सडकको हटिया खण्डमा आफ्नो जीवन साथीको न्यानो अंकमालकासाथ जिप पार्क तर्फ बघि बढ्दै गरेकी सुशीलालाइ उनको गन्तब्य कति परसम्म हुन्छ के थाहा ? उनी त पोखरा विन्दवासिनी मन्दिरमा पुगेर बैबाहिक जीवनमा बांधिने कल्पनामा नै रमेकी छिन् ।
केहि कदम अंकमालकासाथ अघि बढेपछि डिक्सन केहि पछि सर्छन । उनको पछिपछि आएको राजले उनको हातमो छुरी थमाई दिन्छन् । त्यहि छुरीले निर्दयतापूर्वक डिक्सनले सुशीलाको शीरमा प्रहार गर्छन् । सुखमय दाम्पत्य जीवन बिताउन जस्को काखमा उनले आफ्नो शरीर सुम्पेकी छिन उसैबाट यस्तो निर्मम प्रहार हुन्छ भन्ने कल्पनासम्म उनीमा छैन ।’ऐया … … ।’- सुशीला डिक्सनको यस अकल्पनीय प्रहारको दुखाईलाई रोक्न सक्दिनन् ।त्यसपछि छुरी राजले लिन्छन् । डिक्सनलॆ सुशीलालाई चरप्प समाउछन ताकि उनी भाग्न नसकून । राजले सुशीलाको शीर, छाती र घांटीमा छरितो सित निर्दयतापूर्वक छुरा प्रहार गर्छन । छुराको वर्षाबाट सडकमा ढलेकी सुशीलामा अझै प्राण बांकी छ कि भनेर दुबैले ढुंगाले सशीलाको शीरमा प्रहार गर्छन । अब यो मरी भन्ने विश्वस्त भएर ती हिंड्छन ।

माघ १५ गते मोटरसाईकल मर्मत गर्न हटिया बजारमा रहेको राज खानको ‘साथीभाई वर्कशप’ पुग्छन् डिक्सन । दुबैको चिनजान पहिले देखिकै छ । दुबैले हात मिलाउ छन् । राजसंग हात मिलाउदा डिक्सनको हात नराम्ररी दुख्छ – ‘तिम्रॊ हात त खतरा रहेछ कति सारो ।’ ‘मेरा हात त खतरा छ । भनन यो हातले के गर्नु पयो ?’ राजले सोध्छन् । मान्छे मार्न सक्छौ ?’- डिक्सनले प्रश्न गर्छन ।’पैसा पाए जेपनि गरिन्छ, मान्छेपनि मारिन्छ ।’- राजको सटिक जवाफ आउछ । सुशीलाबाट छुटकारा पाउने उपाएको खोजीमा रहेका डिक्सनलाई विश्वास हुन्छ- ‘राजको हात सहयोगी सावित हुनसक्छ ।’एउटा केटीलाई मार्नुछ…।’ डिक्सनले राजसंग बिस्तारै प्रस्ताव राख्छन । ‘को केटी हो ?’ भनी राजले सोधेपछि ‘पहिले काम गर्छौ कि गर्दैनौं भन’ भनी डिक्सनले सोधेपछि ‘कति सहयोग गर्छौ ?’ भनी राजले प्रश्न गर्छन । ‘तीस चालिस …’ तोलमोल सुरुहुन्छ । काम भएको दश दिन भित्र डिक्सनले मोटर साईकल बिक्री गरेर ५० हजार राजलाई दिने तय हुन्छ । दुबै मिलेर कहां, कहिले, कसरी, सुशीलाको हत्या गर्ने भनी तानाबाना बुन्न थाल्छन् । दुई तीन दिनको अन्तरालमा यिनीहरुवीच धेरै पटक भेट हुन्छ । गहन सरसल्लाह हुन्छ । हत्यालाई अन्जाम दिने टुंगो लाग्छ । राजसंग भएको लामो छुरी डिक्सनले ८ हजारमा किन्छन् । त्यसै छुरीको प्रयोग गरी हत्या गर्ने तय हुन्छ । छुरी पहिले डिक्सनले हान्ने र राजलाई दिने त्यसपछि सुशीलालाई डिक्सनले समाउने र राजले छुरी हान्ने…! सल्लाह अनुसार घटनाका दिन विहान डिक्सन र राज हटिया जिपपार्कमा भेट भएर घटनास्थल तिर लाग्छन् । हत्या पछि प्रहरीको अनुसन्धानको दायराबाट कसरी बच्ने ? भन्ने उपायहरु राजले बाटोमा हिड्दै गर्दा डिक्सनलाई सिकाउदै छन्, छुरीलाई खाली हातले समात्न हुदैन पन्जा अगाएर समात्नु पर्छ, रगत लागेका लुगाहरु खॊलामा बगाउनु पर्छ…। आदि आदि । हत्या पश्चात फर्कदै गर्दा डिक्सनले राजलाई सोध्छन् ‘छुरी खोई ?’ ‘छुरी मैले त्यहि गहुं बारीमा फालेको छु । तिमीले लगाएका कपडाहरु खोलामा बगाई दिनु । सुशीलाको मोबाईलबाट सिम झिकेर फाल्नु । तिमीलाई पुलिसले पक्राउ गरेछ भने जति कुटेपनि म एक्लैले मारेको हो भन्नु मलाई जतिगरेपनि नपोल्नु । बरु मलाई तिमीले पैसा दिनु पर्दैन ……।’सुशीलाको हत्या गरेको दिन प्रहरी नियन्त्रणमा पुगेका डिक्सनलाई भेट्न पुग्छन राज । हुनसक्छ प्रहरीलाई आफ्नो नाम नबताए कबुल बमोजिमको पैसा दिन पर्दैन भन्ने स्मरण गराउन उनी डिक्सनलाई भेटन गएका हुन् । माघ महिना बित्छ । राज निर्धक्क साथ वर्कशप चलाएर दिन बिताएका हुन्छन् । उनको दिनचर्या सामान्य छ । त्यत्तिकैमा घटनाको दुई हप्तापछि अर्थात फागुन ४ गते राजलाई प्रहरीले पक्राउ गरी बागलुङ जिल्ला प्रहरी कार्यालय ल्याउछन् । राज पक्राउ परेको थाहा पाएपछि गल्कोट उपत्यकामा पुनः कानेखुसीको दौर सुरु हुन्छ । … घटनाको दुई हप्ता बित्दासम्म प्रहरीले किन राज खानलाई पक्राउ गरेन …… यसै बीच अपराधी भागेको भए … … के हुन्थ्यो … … भारतमा जाने खोज्न ? … … यसको को जिम्मेवार … नारावाजी गर्ने दिनमा यहि राजले प्रहरी चौकीमा बढी ढुंगा प्रहार गर्ने र डिक्सनलाई जनता सामु सार्वजनिक गर्नु पर्छ भन्दै कुर्लने गरेकॊ हो … एउटा होटेलामा राजले डिक्सनलाई थुतेर ल्याउनु पर्छ भनेको हो…डिक्सनले राजको नाम पहिले नबताएर हुनसक्छ…। कसैले कानेखुसी गर्छन यसले त भारतमा सुपारी लिएर हत्या गरेको छ रे… कानेखुसीको क्रम अझै पनि गल्कोट तिर चलिरहेछ । यहि मौकामा डिक्सनलाई खतम पार्नसके सदाको निम्ति ढुक्क भईने सोंचले राज बढी उग्ररुपमा पेस भएको होला – ‘न रहे बांस न बजे बांसुरी ।’यतिमात्र पनि कहां हो र ! सुशीलाको हत्यापछि उनकी आमाले पितृ बोलाउदा बक्ने महिलाले रुदै भनेका कुराहरु गल्कोटवासीहरुका मोबाईहरुमा कैद गरिएको छ ।

अपराधी जति बाठो भएपनि कहीं न कहीं सबुत त छाडेकै हुन्छ । छुरी समाउदा पन्जा लगाएर समात्नु पर्छ भन्ने राज, लगाएका लुगाहरु खोलामा बगाउन उपदेश दिने राज, आफैले छुरी खोलामा नफालेर गहुं बारीमा फ्यांक्नु पापले पोलेरै होला अनि डिक्सनले पनि राजको सल्लाहलाई लत्याएर हत्याका बखत प्रयोग गरिएका कपडाहरु कालो ल्पाष्टिकमा राखेर बोर्डिङ कै आसपास लुकाएर राख्नु पनि पापले उछारबाटो नदिएरै हुनसक्छ ।

(स्रोत : NRNaksa)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.