~सोझो गाउँले~
बाँच्नलाई एउटा बाहना चाहिन्छ
बाँच्ने बाहना बाँकी नरहे पनि
यमराजले अवकास नदिएसम्म
जिन्दगीको जागीरबाट
हात धुन सकिदो रहेनछ
जीवनलाई जोखिमबाट बचाउन
जीवनले नै जोखिम मोल्नु पर्छ
जीवनसँग बार्गेनिङ् गर्दागर्दै
जीवनकै मूल्यभन्दा बढी घाटा सहनु पर्छ
समयको हुरिले भाँचे पनि हाँगाबिँगा
जरा समातेर जीवन पथमा दौडिनु पर्छ
मनभित्र यदि मन्दिर छ भने
मानवभित्रै देव भेटिन्छ
हैन फोहोरको डङ्गुर छ भने
दुर्गन्ध र दानव भेटिन्छ
ईश्वर रहेछ भने रहस्यमयी रहेछ
सबैभन्दा ठुलो कुरा विश्वास रहेछ
जैविक पाटो भौतिक भए झैँ
आध्यात्मिक पाटो मनोवैज्ञानिक हुन्छ
मान्छेलाई गाँस, बाँस र कपासपछि
फूल, जून, धुन पनि चाहिन्छ
काउली र मखमली सँगसँगै फुलाए
भात र गीतको सन्तुलन मिलाए
जीवन आफैँ सुन्दर बन्छ
प्रत्येक सुन्दर कार्य आफैंमा धार्मिक हुन्छ।।
(स्रोत : Hulaki)