~जेबी खत्री~
सबैले भने
अब उज्यालो भयो ।
नयाँ बिहानीको खोजीमा
निस्केको यात्रा रोकेर
सबैले उज्यालो भएको
अभिनय गर्न थालेपछि
कसरी विश्वास नगर्नु ?
बिसाएँ मैले पनि
आस्थाको एउटा भारी
छेउको ढुंगामाथि
उज्यालो भएको अभिनय गर्दै
नौलो सूर्य उदाउने आशमा ।
विडम्बना !
वर्षौं बिते पर्खाइमा तर
त्यो नयाँ बिहानी आएन ।
अहँ आएन
कहिल्यै आएन ।
बल्ल थाहा भयो
रात अझै बाँकी रहेछ
झुक्याएछन् ती जून-ताराहरूले ।
प्रकाशित: चैत्र १६, २०७०
(स्रोत : नेपाल साप्ताहिक)