~इनोसेन्ट राजन~
यहाँ,
प्रत्येक रात धमिलिन्छन-सपनाहरु आँखामा!
अनायासै दुख्छ-
सर्टिफिकेट च्यापेको शिरानी!!
डगमगाउछन पाईलाहरु-जीवनको आयु नापेर !!
जब-जब,
बाध्यताका पहाडहरु ढल्छन शीरमाथी!!
हो,
अन्तिम बिदाईको त्यो पल,
पूर्वी उपत्यकामा झरेको साँझले
सन्नाटा चिथोरिरहन्छ-
भोकहरुको कमण्डलु भिरेका तमाम “म” हरुमाथी!!
र,
प्रत्येक सेकेन्ड-सेकेन्डमा
गरिबी र अभावका पर्खाल भत्काउन,
स्क्यान गरिरहन्छ युवाहरु-बिमानस्थलको मूलगेट!!
उ ……त्यहाँ देखिरहेछु-
नयाँ सपना सजाउदै रोहिरहेका-आँखाहरु,
र,
त्यहि देखेकोछु-
साथ छोड्न कठिन बनेका कयौंन-कयौंन न्याना अँगालाहरु!!
अनि,
लोड-सेटिंगको पर्दामा खिचिएका-
अन्तिम सेल्फिहरु,
चाडै भेट्ने कसम खादै गरेका प्रेमिल क्लाइमेक्सहरु!!
देश सजाएका गर्वित-छातीहरु!!
हठात,
च्यातिन्छ मनको एक फेरो,
र,
बुढा गालाको सुमेरु छुदै-
बग्छ कर्णाली आँखाको किनारै-किनार
अनि,
ओराल्छ मष्तिष्कले-
हजारौ जवाफ बिनाका भर्जिन सवालहरु…!
हामी कहिले सम्म लखेटिन्छौ देशबाट….?
हामी कहिले सम्म पराया बन्छौ आफ्नाबाट ….?
(स्रोत : साहित्य सन्दर्भ)