~बिष्णु सुवेदी ‘दोलखे’~
सुनसान रात चिर्दै
भीरको बाटो
उकालो–उकालो खुइय गर्दै
म थुम्की निस्केको छु !
लामो जङ्घार तरेर
काँढै काँढाको यो बस्तीमा
अलिकता उज्यालो पर्खेको छु ।
खोलाहरूको नागबेली पार गरेर
नयाँ–नयाँ सपनाहरूले तान्दै ल्याएको छ
यतिबेला, जम्मै बिर्सिएको छु
गाउँ, पाखा, पखेराहरू
साथी, सङ्गी, आफन्तहरू ।
एक्लो–एक्लो चढ्नुको मज्जा
यो गलबन्दीको छेउमा पोको पारेर
दुःख र पीडाहरू
कति मीठो चपाइरहेछु !
पाखाभरि गुराँसहरू फुलेर
रातो बाटो हिँडेको छु !
यहींबाट हेर्न चाहन्छु
अझ अग्लो सगरमाथा
अझ फराकिलो आकाश
यहींबाट चाहन्छु भेट्न
तिनीहरूसँग !
हो, यो थुम्कीको नयाँ चौतारीमा
निस्फिक्री सुकाउन चाहन्छु
मनका आला, पुराना घाउहरू
मनका पीडाहरू
बेपर्वाह सुकाउन चाहन्छु
गालामा बसेको आँसुको टाटो ।
यो बाटोको एउटा घुम्ती
यहीं छाडेर जान्छु,
र यहींबाट सुरु गर्छु
नयाँ जीवन, नयाँ बाटो, नयाँ खोज,
गहिरो खाल्डो खनेर
पुरिदिन्छु गुनासाहरू
र बिर्सिदिन्छु धमिला सम्बन्धहरू !
जोस भरेर मनभरि बेलुन झैं
उड्छु यहींबाट
उठाइरहन्छु जीवनको झण्डा
र फर्फराइरहन्छु मेरो आदर्श
घोषणा गर्छु म यतिखेरै
यो थुम्कीको चौतारी साक्षी
यो पहाडको घुम्ती साक्षी
म झुक्दै झुक्दिन
विसङ्गति र अन्याय विरुद्ध
मेरो अठोट घाम जत्तिकै सत्य
म चुम्छु एकदिन
मेरो महान् लक्ष्य
यही बाटो हिँडेर
म हेर्छु नीलो आकाश, रातो बस्ती,
र मुक्त मनहरू !
राम्पा, दोलखा
(स्रोत : रचनाकारको ब्लगबाट सभार)