~निभा शाह~
आमा सती पठाउने
गाइलाई माता बनाउने
यहि हो मनुवाद ।।
यो मनुवादका बिरुध्द हतियार नउठाउने अछुतहरुको साहदत हुँदैन बध हुन्छ ।।
यो मनुवादका बिरुध्द हतियार नउठाउने
सिताहरुको सहादत हुँदैन बध हुन्छ ।।
यहि हो मनुवाद उर्फ! मनुस्मृती ।।
यो मनुस्मृतीमा जो नि:शस्त्र छ त्यो अछुत हुन्छ त्यो अछुत रामको बाणले शंबुक भएर मर्छ ।।
यो मनुस्मृतीमा जो नि:शस्त्र छ त्यो सिता हुन्छ त्यो सिता मनुको आगोमा सती भएर मर्छ ।।
यो मनुस्मृतीमा अछुतका हातले कुवा छुनु हुँदैन
अछुतका मुखले वेद पढ्नु हुँदैन
अछुतका पैतालाले सडक छुनु हुँदैन लाठि चार्ज हुन्छ गोली चार्ज हुन्छ।।
हो यो मनुस्मृतीमा
सिताले सडकमा आगो बाल्नु हुँदैन
सिताले सडकमा धनुषबाण देखाउनु हुँदैन
लाठि चार्ज हुन्छ गोली चार्ज हुन्छ।।
बरु यो मनुस्मृतीमा
सिताले सडकमा सुते हुन्छ
सिताले सडकमा नगरबधु भए हुन्छ
सिताले धनुषधारी हुनु हुँदैन
यहि हो मनुस्मृती ।।
यो मनुस्मृतीमा ढुंगा देउता भयो कि भएन
बहस ढुंगाको हुन्छ
यो मनुस्मृतीमा गाई माता भयो कि भएन
बहस चौँपायाको हुन्छ
यो मनुस्मृतीमा नि:शस्त्र सत्ताबिहीन भुईँमान्छेको बहस हुँदैन ।।
यहि हो मनुस्मृती
बनाम दखिने संबिधान
यो संबिधान रामनामी कामरेडहरुको हस्ताक्षरमा नयाँ संस्करण भएर आउँदैछ
यो संबिधान जनता जलाउन आउँदैछ
जनताहरु हो यो संबिधानले तिमीलाई जलाउनु अघि
तिमी यो संबिधान जलाउनलाई उठ ।।
(कवि निभा शाहको कविता संग्रह ‘मनसरा’,‘इन्कलाब जिन्दावाद’ र ‘कालापानीकी द्रौपदी’ प्रकाशित छन् ।)
(स्रोत : Bharosanews)