बाल कथा : बाँदरहरूको श्राद्ध

~कमल कोइराला~

भर्खरैमात्र वर्षा ऋतु सकिएको थियो। धर्तीमा शरद ऋतुका संकेतहरू देखिन थालिसकेका थिए। पशुपतिनाथ मन्दिरपारिको वनभित्रका प्रत्येक रूखमा शरद नाचिरहेको थियो।

वनभित्रका सम्पूर्ण वन्यजन्तु शरदोत्सव मनाइरहेका थिए। वर्षाको बाढीले धमिलिएको बागमती बिस्तारै कञ्चन बन्दै थियो। पशुपति क्षेत्रमा प्रशस्त बाँदर देखिन्थे। उनीहरू मन्दिर, देवल, धर्मशालाका छाना तथा पर्खाल र रूखका हाँगाहरूमा छरिएका थिए।

पशुपति परिसरमा दर्शनार्थीले दिएको खानेकुरा खाएर बाँदरहरूको जीविका चलिरहेको थियो। मौका पाए मानिसका हात र झोलामा बोकेका खानेकुरासमेत झम्टेर खोस्ने साहस गर्थे। केटाकेटीले हातमा फलफूल वा कुनै खानेकुरा लिएको देख्नेबित्तिकै झम्टन आइहाल्थे। त्यसैले पशुपतिनाथमा आउने अधिकांश दर्शनार्थी बाँदरबाट आतंकित थिए।

सुरक्षाका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी झन् बाँदरले दर्शनार्थीलाई गर्ने व्यवहार देखेर आजित भइसकेका थिए । पशुपतिमा आउने साधुहरू भने बाँदरलाई खुब मन पराउँथे। बाँदरहरू पनि साधुसन्तसँग निकै झुम्मिन्थे।

कहिलेकाहीँ साधुका काँध र टाउकामा चढ्ने आँटसमेत गर्थे। यो दृश्य निकै रोमाञ्चक देखिन्थ्यो। त्यसैले विदेशी पर्यटक यस्तो दृश्य देख्नेबित्तिकै फोटो खिच्न हतारिन्थे।साउनभदौमा देखिने व्रतालु महिलाको चहलपहल असोज लागेपछि विस्तारै कम हुँदै थियो।

असोजको मध्यतिर पितृपक्ष प्रारम्भ भयो। पशुपतिमा पितृ श्राद्ध गर्नेको घुइँचो लाग्न थाल्यो। पितृभक्तहरूले बागमती किनार भरिभराउ भयो। बाँदरहरू मन्दिरवरिपरिका पर्खालमा बसेर मानिसले गरेका पितृकार्य हेरिरहेका थिए।

पण्डितहरूले सुमधुर लयमा मन्त्रोच्चारण गरेको उनीहरूलाई सुनिरहूँझैं लाग्यो। पुरोहितहरूले सिकाएअनुसारका विधि गर्ने यजमानका क्रियाकलाप उनीहरूलाई खूब रमाइलो लाग्दै गयो। पितृलाई तर्पण दिएको, घरि दाहिने त घरि देब्रे काँधमा जनै राखेर पहेँला चन्दन, अक्षता र फूलपातीले पूजा गरेको र अन्तिममा हरिया टपरीमा खीरका डल्ला बनाएर बागमतीमा बगाएको दृश्यले उनीहरूलाई खुब लोभ्यायो।

केही दिनसम्म बागमती किनारमा यी दृश्य देखेपछि बाँदरहरूको मनमा खुल्दुली उत्पन्न भयो। त्यहाँ गरिएका सबै क्रियाकलाप देखेर पनि त्यो के गरिएको हो भन्ने कुराचाहिँ उनीहरूले ठम्याउन सकेका थिएनन्।

मानिस डोका, डाला, थैला र झोलामा सामान पोको पारी टाढाटाढाबाट त्यहाँ आएको दृश्य उनीहरूले प्रत्यक्ष देखिरहेका थिए । झन्डै एक हप्तासम्म पर्खालमा बसेर यी सारा दृश्य नियालिरहेको एउटा बूढो ढेडुले मनमनै सोच्यो, ‘मानिसहरू कहाँकहाँबाट यहाँ आएर यति रमाइलो काम गरिरहेछन्।

उनीहरू कत्ति झर्को नमानी कति टाढाबाट सामान बोकेर यस्तो रमाइलो कर्म गरी फर्कन्छन्। नजिकको तीर्थ हेला भनेझैं हामीले भने वर्षौदेखि यहीँ बसेर पनि यस्तो काम गर्न सकिरहेका छैनौं।’ ढेडुले मनमा एक दिन आफूहरूले पनि यस्तै काम गरिछाड्ने अठोट लियो।

उसले समूहका साथीहरूलाई आफ्नो मनसुवा सुनायो। सबै बाँदर उसको मनोकांक्षाअनुसार काम गर्न राजी भए। ‘मानिसले गरेजस्तो काम त गर्ने ! तर कुन दिन, कहाँ, कसरी गर्ने होला?’, ढेडुले मनमनै सोच्यो, ‘भोलि नै बागमती किनारमा यस्तो काम गराउने पण्डितलाई भेटेर सम्पूर्ण कुरा सोध्नुपर्ला।’

भोलिपल्ट एक हूल बाँदर एउटा पण्डितसामु गएर उक्त कर्मका बारेमा जिज्ञासा राखे। उनीहरूले आफूहरू पनि त्यस्तै कर्म गर्न इच्छुक रहेको बताए। बाँदरका अनौठा तर चाखलाग्दा कुरा सुनेर टपरीका चामल झोलामा खन्याउँदै पण्डितले भने, ‘हेर्नुस् यो श्राद्ध हो।

दिवंगत पिृतहरूको सम्झनामा प्रत्येक वर्षको आश्विन कृष्णपक्षका सोह्रवटा तिथिमा यो कर्म गरिन्छ। सोह्र दिनसम्म चल्ने भएकाले यसलाई ‘सोह्र श्राद्ध’ पनि भन्ने चलन छ। वर्ष दिनसम्म खान नपाएर भोकाएका पितृहरूलाई तृप्त पार्न यो श्राद्ध गरिन्छ।’

एउटा बोलक्कड ढेडुले बीचैमा प्वाक्क मुख फोरिहाल्यो, ‘हामी पनि आफ्ना पितृहरूलाई यस्तै विधिबाट भोजन गराई तृप्त गराउन चाहन्छौं। मिल्छ भने हामीलाई पनि यस पद्धतिमा सहभागी गराइदिनुपर्‍यो।’

बाँदरहरूको अनपेक्षित प्रस्ताव सुनेर पण्डित एकछिनसम्म अकमक्क परे। बाँदरका अप्ठ्यारा कुराले उनलाई किंकर्तव्यविमूढ बनायो । मनमनै सोचे, ‘म त मृत मानिसहरूको श्राद्ध गराउने पण्डित पो हुँ। पुस्तकमा पनि मरेका मानिसको श्राद्ध गर्ने विधिमात्र उल्लेख छ। अब के भन्ने होला?

ठूलै धर्मसंकटमा पो परिने भइयो त बा !’ पण्डितले केही प्रतिक्रिया दिएनन्। ‘छिटो निर्णय दिनुस् न ! नत्र हामी अर्का पण्डितजीलाई अनुध गर्न जान्छौं’, केही प्रतिक्रिया नदिई पण्डित टोलाएको देखेर बाँदरहरूले एकै स्वरमा भने, ‘हामी मानिसकै पुर्खा हौं क्यारे ! यहाँहरू सबै हाम्रै विकसित स्वरूपका सन्तान त हुनुहुन्छ नि ! नमिल्ने भन्ने त कुरै आउँदैन। मात्र कुरा यत्ति हो, यहाँ तयार हुनुहुन्छ कि हुनुहुन्‍न?’

सुरुमा त पण्डित निकै असमञ्जसमा परेका थिए। तर ‘बाँदरहरू पनि मान्छेकै पुर्खा त हुन् नि !’ भन्ने उनीहरूको अभिव्यक्ति सुनेपछि पण्डितलाई मुख फोर्न अलि सहज भयो। श्राद्ध गराउँदागराउँदै त्यही ठाउँमा बाँदरहरूले यज्ञस्थलबाटै खानेकुरा चोरेर हैरानै पारेको उनले वर्षौंदेखि भोग्दै आएका थिए।

त्यसैले बाँदरलाई सतर्क गराउँदै उनले भने, ‘यो पितृहरूप्रति जीवित सन्तानले गर्ने पुण्यकर्म हो। यसमा पवित्र आत्माले श्रद्धापूर्वक समर्पण गरिएका कुराले मात्र पितृहरू तृप्त हुन्छन्। यो कर्ममा चोरीडकैती गरेर ल्याएका सामग्रीहरू समर्पण गर्न मिल्दैन।

त्यसरी गरिएको पिण्डदानबाट पितृहरू तृप्त हुदैनन् र जीवित सन्तानलाई मनोवाञ्छित फल पनि प्राप्त हुँदैन। यदि पवित्र आत्माले यी सम्पूर्ण कुराहरू जुटाएर कर्म गर्न सक्नुहुन्छ भने आउनुस्, म तपाईंहरूलाई भोलि नै यस कर्ममा सहभागी गराइदिन्छु। अन्यथा जानीजानी यहाँहरूले गर्ने पापकर्मको फल त म भोग्न सक्दिनँ।’

पण्डितको सर्तका परिधिमा रही पुण्य आत्माले आफ्ना पितृहरूको श्राद्ध गर्न सम्पूर्ण बाँदर तयार भए। पण्डितले भनेअनुसार त्यस दिन उनीहरूले पितृका नाउँमा एक छाकमात्रै खाए। भोलिपल्ट श्राद्ध गर्ने निर्णय त गरियो तर सामानहरू कहाँबाट कसरी जुटाउने भन्ने कुराले उनीहरूलाई पिरोल्यो।

एकछिनसम्मको गम्भीर बुद्धिविलासपछि सबै बाँदर पशुपति विकास कोषका सदस्यसचिवलाई बिन्ती गर्न पुगे। सदस्यसचिवको कार्यकक्षमै पुगेर उनीहरूले आफ्ना सम्पूर्ण मनोकांक्षा र योजना सुनाए। बाँदरहरूको अनौठो प्रस्ताव सुनेर सुरुमा उनी पनि गलल्ल हाँसे।

लगाएको चस्मा झिकेर हातमा लिँदै उनले भने,’हेर्नुस्, तपाईंहरू पाशुपत क्षेत्रका शोभा हुनुहुन्छ। तपाईंहरू खुसी हुनु भनेकै भगवान् महादेव खुसी हुनु हो। मानिसले झैं हामी पनि आफ्ना पुर्खालाई तृप्त पार्छौं भन्ने तपाईंहरूको पवित्र संकल्पको म सम्मान गर्छु। तपाईंहरूको मनोकांक्षा पूरा गर्न सहयोग गर्नु मेरो धर्म हो।’

सदस्यसचिवका कुरा सुनेर बाँदरहरू निकै खुसी भए। उनले पशुपति विकास कोषबाट बाँदरहरूलाई श्राद्ध गर्न आवश्यक सबै सामग्री उपलब्ध गराइदिए। जौ, तिल, कुश, चन्दन, अक्षता, फूलपाती, जनै, पैसा, चामल, दही, दूध, घिउ, दुना, टपरी, भाँडाकुँडा र प्रशस्त फलफूल भएको एउटा थैलो बोकेर बाँदरहरू बागमती किनारमा पुगे।

बागमतीमा नुहाइधुवाइ गरी जनै फेरेर बूढोचाहिँ ढेडुले सेतो धोती लगायो। अनि ऊ पण्डितको निर्देशनअनुसार श्राद्ध गर्न बस्यो। बाँकी बाँदरले पितृकार्य सफल पार्न उसलाई सहयोग गर्दै गए।

त्यस दिन पशुपतिमा विचित्रको दृश्य देखियो। अरू दिन बाँदरहरू पर्खालमा बसेर मानिसहरूले श्राद्ध गरेको टुलुटुलु हेर्थे। त्यस दिन सयौं मानिस अनौठो मान्दै बाँदरहरूले श्राद्ध गरेको आँखा तन्काई तन्काई हेर्न थाले।

(स्रोत : Annapurnapost – Ankur)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.