~राजकुमार बगर~
जिन्दगीको परिभाषा भत्केर
बेअर्थ बाँचेको छु हिरोसिमाझैँ
मलाई छुँदा तिम्रो खुसीको मस्र्याङ्दी सुक्छ भने
भैगो मलाई नछोऊ भुन्टी, भैगो मलाई छुँदै नछोऊ
आँखाबाट बगिरहेको अनगिन्ती पीडा देखेर
बिचरा भन्नेहरू धेरै भेटेँ
सहानुभूति पग्लेर
बैसाखी बन्छु भन्नेहरू पनि भेटेँ
अस्थाइयी जिन्दगीको स्थायी सहारा खोज्दै हिँड्दा
अहिले घाउहरूको खात भएको छु
मसँग बोल्दा तिमीतिर पीडा सर्छ भने
भैगो मसँग नबोल भुन्टी, भैगो मसँग बोल्दै नबोल
आफन्तपनको तिर्खा लाग्यो
प्रेम गरेँ, विश्वास गरेँ
तन, मन, जीवन सर्वस्व सुम्पिएँ
बदलामा जिजीविषाहरू झुन्डिएर मर्ने पासो पाएँ
मन आगोजस्तै भएको छ
म अगेनोझैँ आगो तापिरहेको छु
मेरो छेउमा आउँदा तिमीलाई जल्ने डर छ भने
भैगो तिमी नजिक–नजिक नआऊ भुन्टी, भैगो मेरो नजिक आउँदै नआऊ
रहरहरू जलेर
सपनाहरू जलेर
खुसीहरू जलेर फगत एक थुप्रो खरानी भएको छु
मलाई हेर्दा तिम्रो निधारको जून जस्तो भाग्य खस्छ भने
भैगो मलाई नहेर भुन्टी, भैगो मलाई हेर्दै नहेर ।
(स्रोत : Ghatanarabichar )