कुनै नानी रुन्छ र,
कि मेरो छाती चर्किन्छ कि धर्ती हल्लिन्छ
पहाडको गर्भे पेटमा कान टाँसेर सुन्दैछु–
लाभाहरुको जन्म हुँदैछ
चिराइतोको पात चपाउदै
समय गुराँसका थुँगाहरुमा बसाइँ सर्दैछ
अँगेरीको नश्लसँग अब कुनै बिखुमा आक्रोशित हुने छैनन् ।
खाङग्रे मस्तिष्कमा बनावटी आस्थाका पत्कर भरिँदा
मलखाँदमा रायोको बिहे तुहिनु अगावै
समय निस्तो घुर्यान चपाएर अब कुपोषण खेप्न सक्दैन ।
सुत्केरी बोक्ने एम्बुलेन्सका साइरन लगाउदै
गतिशिल सल्लाघारी सुसाइरहेछ र त,
समयको निम्तो मेरो कानमा पुग्यो–
पुरुषले हेर्न नहुने गाइनेकोलोजीमा म आन्दोलित छु ।
खहरे नाँघ्न नसकेर कुनै गाउँ यता झरेनन्
पहाड उचाइमा बाँच्छ– गुराँस जस्तो !
अग्र्यानिक चेतले पहिरो तान्दैछ–गर्भवती पेटलाई
भूइँकुहिरो उँभो चढ्दैछ–इन्द्रियका खोलाखोल्सी हुँदै
यो विशमता भोगेर अक्करे–युगमा
थारो हुनुको लघुताभाषले मेरो दिन अब फाल हानेर मर्न हुँदैन ।
कतै नानी रुन्छ र,
कि मेरो छाती चर्किन्छ कि धर्ती रुन्छ
गिदीमा बिर्युत्पादनको श्लाघा उब्जाएर
पहाडको गर्भे पेटमा कान टाँसेर सुन्दैछु–
लाभाहरुको जन्म हुँदैछ ।
(स्रोत : Pancha Vismrit’s Blog)