~सारदा पाठक~
हेलो आयो आयो रे
आजभोलि जति खबर आउछ भुकम्पको आउछ
पराकम्पनको आउछ गणतन्त्र दिवशको दिन
पाँच चोटी सलामी आउछ
हेलो आयो आयो रे
आज भोलि जताततै भुकम्प छ
पिउने पानीमा भुकम्प
खाने दाल चामलमा भुकम्प
रात बिताउने तिरपाल र पालमा भुकम्प
त्यसैले त भुकम्पमा सुतिन्छ भुकम्पमा उठिन्छ
जताततै भुकम्पको पर्दा लागेको छ
बिपनामा भुकम्प भोगिन्छ
सपनामा भुकम्प देखिन्छ
गीत गजल कथा हाइकु
सबै सबै भुकम्प लेखिन्छ
आजभोलि जताततै भुकम्प छ
हिउँमा भुकम्प जन्मन्छ, नदीमा भुकम्प बग्दछ
काली गण्डकी सराबी बनिन्
त्यो रात मदिरा धोक्नलाई लुकिन्
मात चढेर बाटो कुबाटो कुदिन्
छेउछाउमा भेटिएका सबैलाई खेदिन्
त्यो रात काली गण्डकी सराबी बनिन्
आजभोलि जति हेलो आउछ
खाली भुकम्पको मात्रै आउछ
एउटा चुरोटको कार्टनमा पैसा छिर्ने प्वाँल पारेर
भुकम्पको लामो हात पसारिन्छ
खिस्स हाँसेर बट्टा अगाडि सारिन्छ
पाँच वटा खल्ती छामछुम पछि
एक डलर खत्रक्क झारिन्छ
एकै साथ धन्यवाद भन्दै जुँगा मसक्क मुसारिन्छ
आजभोलि जति हेलो आउछ भुकम्पको मात्रै आउछ
तर एकातिर भुकम्पसँग डराएन ज्यात्रो मान्छे
जति मरे पनि जन्मन छोडेन मान्छे
मानवता बिक्दा पनि कराएन ज्यात्रो मान्छे
पाल तिरपालभित्र पनि बलात्कार गर्न छोडेन मान्छे
झोला झोलामा संस्था बोकेर
पोका पोका लुकाउन माहिर मान्छे
तर अर्कोतिर
शाहसी छ मान्छे
आशावादी छ मान्छे
आत्मविश्वासी छ मान्छे
धरहरा काटियो जग पलाउने विश्वासमा छ
धर्ती चीराचीरा भए पनि बुर्लुक्क बुर्लुक्क उफ्रन्छ मान्छे
भुकम्पले पहाड सम्म बनायो भन्छ
भुकम्पलाई सम्मानित पाहुना ठान्दै
वषौँदेखिको राजनीतिक खिचलो मिलायो भन्छ
साम्यवादको दर्शन रोपियो भन्छ
त्यसैले बस तिमी भुकम्प भुकम्पस्मार्ट सिटीमा
भेरीको किनारमा
हाम्रो प्यार छ
आजभोलि जतातै तिम्रै वहार छ ।
(स्रोत : Pancha Vismrit’s Blog)