~गोविन्द रावत~
अनारकली…
रामकली…
या यस्तै कुनै ‘कली’ नाम पाएकी
बाँदर्नीले
पहिरिएर दुरुस्त मान्छेको लुगा
नाच्छे–
डिमिडिमि, डिमिडिमि, डिमिडिमि
डमरूको तालमा ।
त्यस्तै,
धर्मेन्दर…
जितेन्दर…
या यस्तै–यस्तै उपनाम पाएको बाँदर
काँधमा लौरो बोकेर
गरिटोपल्छ चौकीदारी
गरिटोपल्छ माया
गइटोपल्छ ससुराली ।
प्रतिक्रियामा हामी
हाँस्छौं, दुःख लुकाएर
ताली दिन्छौं, गाली लुकाएर
यथार्थमा तिनले
टोपलेका मात्र हुन्
सत्य त–
बाँदरको काम बिगार्नु हो ।
तर सरोकार छैन हामीलाई
बाँदरको पूर्वकथा, मध्यकथा या अन्त्यसँग
सरोकार छैन हामीलाई
मदारीको नाम, थर या वतनसँग पनि
दीर्घकालीन दुःख साँचेर
बाँचेका हामीहरू
केवल साट्छौं–
चानचुन नोटसँग क्षणिक हाँसो ।
प्रिय, रमिते मित्र !
यो पहिले पहिलेको दृश्य हो
जसका बाँदरहरू
कहाँकहाँ गइसके होलान् !
जसका मदारीहरू
कहाँकहाँ पुगिसके होलान् !
हामी भने
अझैसम्म त्यहीँ छौं
जहाँ बाँदर र मदारीले छाडी गएका थिए ।
फरक यत्ति भो कि–
अचेल हामी
भोट दिएर रमिता हेर्छौं ।
(स्रोत : Egkabita)