~विजय याेजीत~
अचेल मान्छेहरु
हिंडेजस्तो गरेर
दौडिएजस्तो गरेर
अनि उडेजस्तो गरेर
त्यहीं छन्
त्यहीं पुगेका छन्
र त्यहीं झरेका छन् !
सहरेहरुले बगरेहरुलाई फुकेका अफवाहहरुमा
सेतीको बगरमा हथौडा छोडेर
उ हिँडेको थियो ,
नयाँ क्रमभंगताको अठोट लिएर
तर ठेलाहरुले
संघारको गेटमा छिस्कनी छुन नपाउंदै
भुन्टे र उ बिचको क्रमभंगता भयो
उ फर्कियो बगरमै
र फूलमायाले कात्रोमाथी ओढाई
एउटा हथौडा !
उ अँध्यारो बालेर
उज्यालो निभाउन उडेको थियो
छायाँ उजाडिएको घामको ओसबाट
बुझेन कहिल्यै उचाई भित्रका अवतरण हरु
जालोका आकाशहरुमा कावा खान नपाउदै
साने र उ बिचको क्रमभंगता भयो
र झर्यो बगरमै ,
फेरी फूलमायाले ओढाई कात्रोमाथी
एउटा रातो घाम !
उ पनि दौडिएको थियो
धेरै परसम्म
अझै परसम्म
सायद पुगेछ कुमालेहरुको बस्तीमा
समय चक्रको खेलसंगै
अँध्यारा रातहरुमा
बनाए कुमालेहरुले
हिउँको एउटा अम्खोरा
माटो संगको क्रमभंगतामा
उ फर्कियो बगरमै
अनि ओढाई फूलमायाले कात्रोमाथी
केहि ताराहरु !
उ अचेल टोहोलाएर बस्छे
सगरमाथा पट्टि फर्किएर
आँखाहरु बाट
आँखाहरु निस्किएर हिंडेका धेरै भइसके
अहँ , फर्किएनन आँखाहरु आँखासम्म
केहि सन्देशहरु आए
दृष्टी र आँखाहरु बिचका क्रमभंगता हरुमा
धादिंग र सामाखुसी बाट
तर उ पर्खिरहेकी छे
यौटा संदेश आओस
हत्केलाका ठेलाहरुले
मूल गेटको छिस्कनी खोलिसके
कावा खाने गगन बाट जालोहरु हटिसक्यो
कुमालेहरुको बस्तीमा चक्रहरू भत्काइए ,
साच्चै फुलमाया
अन्तिम क्रमभंगताको व्यग्र प्रतिक्षामा छे !
(स्रोत : साहित्य सन्दर्भ)