~राजन मुकारुङ~
दस वर्षअघि
अन्तिम पल्ट ढोगेथेँ यो आँपको रुखलाई
मेरो डाइले भन्नुहुन्थ्यो–
यो उम्रिएकै साल म पनि जन्मेको अरे !
यही आँपको रुखमुनि
म केही क्षण सुस्ताउथेँ
शीतल ताप्थेँ र परपरसम्म हेर्थेँ
यो फराकिलो मैदान
यी खेतका गराहरु
सोच्थेँ– कुनै दिन मेरो पनि हुनेछ यस्तै मैदान र खेतका गराहरु
जोत्न थालेको पचास वर्षपछि
मैले अन्तिम पल्ट हेरेथेँ
मेरै पसिनाले हिलाम्य पारेका गराहरु
रोप्नलाई ठिक्क पारेका लहलहाउँदा बीऊहरु
मन भारी भएथ्यो
तप्पतप्प खसेका थिए आँसु
किनभने– म मुक्त भएको थिएँ त्यस दिन
झुम्कीले यहीँनेर एक मजेत्रो पसिना पुछिथी
गुढ्वाले यहीँनेर जोडजोडले नारा लाएथ्यो
मेरी उसले यहीँनेर उभिएर सोधिथी–
मुक्ति भनेको के हो गुढ्वकबाबा ?
पचास वर्षसम्म
जोतेको खेत
खनेको बाँझो
यसैलाई जीवन ठानेको थिएँ मैले
भनेथेँ– झुम्किकडाइ, आजदेखि यो खेत हामीले कमाउनुपर्दैन रे !
यही होला मुक्ति
मेरी ऊ त्यसबेलै झस्केकी थिई
सोधिथी– अनि कल्ले दिन्छ जोत्ना ?
मलाई सरकारसित विश्वास थियो
उसैले दिन्छ भनेथेँ
पाँच वर्षपहिले
रातो परिचय–पत्रको लागि धर्ना बस्न काठमाण्डू गा’को मेरो गुढ्वा
जन्डिसले थलिएर उतै मर्यो
कम्लरी बस्न उतै ग’की मेरी झुम्की
परार माघीको अघिल्लो रात
‘आउन नपाउने भएँ’ भन्दै फोनमै खूब रोइथी
त्यसै रात उसले आत्महत्या गरिछे
बालुवा बटुल्थी झुम्किकडाइ
तिनाउ–नदीमा बगी पोहोरको बर्खा
दस वर्षपछि
आज २०६७ साल साउन २ गते
सत्तरी वर्ष पुगेको म चुन्नीलाल डगौरा थारु
म मुक्त कमैया
यही आँपको रुखमुनि उभिएको छु
सोचिरहेछु– यही आँपको रुख उम्रिएकै साल म किन जन्मेँ ?