~मीनराज ‘बसन्त’~
उसले कसैलाई गराएन जानकारी
आउछु भनेर
केहिले अनुमान मात्रै लगाएका हुन्
ऊ जुनसुकै बेलापनि
अतिथि बनेर आउन सक्छ
अझैपनि चिन्दैनथे कतिपयले उसलाई
कहाँ थाहा थियो उसको स्वभाव, गुण–अवगुण
तर यति जरुर थियो कि
कुनैदिन–
दुश्मनको समेत काँधमा हात राखेर
सुम्सुम्याएर–थप्थपाएर
सुटुक्क भाग्नेछ ऊ
धर्तीको टोड्केलोबाट
फुत्रुक्क बाहिर निस्कनुअघि
धेरैका सपनाहरुमा
लक्षणका सगुनहरु पठाएको हुनुपर्छ उसले
जस्तै–
पहाड खस्नु
नदी उल्टो बग्नु
दाँत खस्नु
भैँसीद्वारा लखेटिनु
जुनदिन आउनु थियो उसले
आयो त्यही दिन
र जब आयो त आयो
कोक्रो झैँ हल्लिन थाल्यो धर्ती
एकका दुई–दुईका चार देखिए मान्छेहरु
फन्फनी रिँगे डाँडाकाँडा रुख पोथ्राहरु
गल्र्याम गुर्लुम्म ढले घर–महल
मुटु पंक्चर भए एकाएक
मस्तिष्कका भित्ताहरु चर्किए
र शून्यमा बाँच्यो मान्छे– त्यसबखत
हिँडिरहेको बाटोमा काँडा लगाइ
अंगुल अंगुल नापि
चंगुल बनाएको सम्पत्ति
उपेक्षा गरिगरि गरिबलाई
उँभो उक्लिएको सफलताको भर्याङ
अनि मिचिएका साँध सिमाना सप्पै बढारेर
एकै बनाइदिएको छ धनी–गरिब
र सामूहिक बास तोकिदिएको छ
खुल्लाचौर–त्रिपालमुनि
यतिबेला
मै हूँ भन्नेको अहम् पनि
तोडिदिएको छ– भुइँचालोले ।
(स्रोत : Pancha Vismrit’s Blog)