~मुकुल दाहाल~
जति लगाउँन खोजे पनि मेरो कोठाको झ्याल बन्द हुदैन
लाग्छ कुनै कुनै बेला त बन्द पनि होस यो झ्याल
तर खुल्लै रहँदा आनन्द पनि लागिरहन्छ
प्रत्येक क्षण हावा जस्तै उडीआउने स्मृतिका झोक्काहरूले
उघारिदिने यो झ्याल सधैँ खुलिरहन्छ
बन्द गरूँ – खेतमा हावासँग नाचिरहेका घाँसका
मसिना हातहरू आएर खोलिदिन्छन
बन्द गरूँ – कल कल बगिरहेको झरनाका तरल हातहरूले
तानेर ह्वाङ्गै छाडिदिन्छन्
झरनाको पानीले भिजेका र किनारका सुख्खा
साना ढुङ्गाहरू झ्यालबाट भित्रै आएर
भुइँभरि छरिन्छन
सबै काम छाडेर म खेल्न थाल्छु ती सँग
बन्द गरूँ –
बारीको पल्लो छेउमा उभिएको आँपको
रूखले पनि खोलिदिन्छ झ्याल
बतासले बेस्सरी हल्लाइदिँदा यसलाई
पातहरू मेरो कोठाभरी छरिन्छन्
यी पातहरूमा मेरो वाल्यकालको सुगन्ध छ
सबै काम छाडेर म पातहरूसँग खेल्न थाल्छु
खुलेको झ्यालबाट म धान कुट्ने मिल पछाडी
तलैसम्म आएर टुङ्गिएरको आकाश देख्छु
मिलको टुकटुके आवाज
कतै बजिरहेका ढोल र दमाहा
सँग मिसिएर आइरहेछ
र बनाइरहेछ हजुरआमाको स्वर जीवित
वहाँले घरपछाडी सुकाउनु भएका कपडा
हावामा फरफराइरहेछन्
झ्याल बन्द गरूँ –
गोधुलीमा घर फर्किँदै गरेका गाइबस्तुका खुट्टाबाट
उडेर आउने धुलोका शुक्ष्म हातहरूले खोलिदिन्छन्
बन्द गरूँ–
समयको पल्लो गाउँबाट कोही आइपुग्छ टुप्लुक्क र खोलिदिन्छ झ्याल
जति लगाउँन खोजे पनि यो झ्याल बन्द हुँदैन ।
(स्रोत : Nepalpati)