कविता : मारिया, म तिमीलाई प्रेम गर्न सक्तिनँ !

~सरुभक्त~ Sarubhakta

तिम्रो देशमा कङ्क्रिटका बिशाल जङ्गलहरू छन्
सुन्दर, चौडा एभेन्यूहरू छन्
रेलहरू पनि पारमाणिक विद्युत ऊर्जामा
भूमिगत – भूमिगत चल्छ भन्छन्
र बाटाहरूमाथिका फ्लाईओभर बाटाहरूमा
गतिशील लुकामारीको खेल खेल्दा
उदेकको आनन्द आउँछ भन्छन्
तर मारिया, माफ गर
अविकसित देशको बासिन्दा भए पनि
गोरेटो–घोडेटो देशको बासिन्दा भए पनि
म तिम्रो देशलाई प्रेम गर्न सक्तिनँ !

तिम्रो देशमा अत्याधुनिक कम्प्युटरहरू छन् ।
सजीव मानवसदृश रोबोटहरू छन्
अन्तरिक्ष यात्राका थुप्रैथुप्रै सामरिक
र नागरिक अवसरहरू छन्
र विश्व राजनीतिमा ‘महाशक्ति’को रवाफसँगै
अणु–परमाणु युद्धसज्जित आत्मविश्वासहरू छन्
यी चमत्कृतिका बेहोरा सुनेर
लाटोले केरा हेरेझैँ वाल्ल पर्न सक्छु म
तर मारिया, माफ गर
आफ्नो सामन्त शोषणजर्जित समाजका
अभिशापहरूलाई बिर्सेर
म तिम्रो उन्नत सभ्यताहरूलाई प्रेम गर्न सक्तिनँ !

तिम्रो देशमा
विश्वव्यापक विचारका पुरुष–आन्दोलनहरू छन्
तिम्रो देशमा
विश्वव्यापक विचारका नारी–आन्दोलनहरू छन्
फेसनशोका चहकहरू
विश्व सुन्दरी प्रतियोगिता महकहरू
हलिउडका ताराहरू
ग्रामी–ड्रम बीटका नेबुलाहरू
र नोबेल पुरस्कार बिजेताहरूको सङ्ख्या पनि
औँलामा गन्न नसकिने छन्
तर मारिया, माफ गर
प्राप्तिशून्यतामा राष्ट्रिय क्षितिजहरूलाई बिर्सेर
जहाँ म मर्ने छु, जन्मनका लागि
म तिम्रा प्राप्तिहरूलाई प्रेम गर्न सक्तिनँ !

मारिया, तिमी सुन्दरी छयौ
किनभने तिम्रा आँखाहरू सुन्दर छन्
मारिया, तिमी सुन्दरी छयौ
किनभने तिम्रा ओठहरू सुन्दर छन्
मारिया, तिमी सुन्दरी छयौ
किनभने तिम्रा बोलीहरू सुन्दर छन्

मारिया, तिमी सुन्दर छयौ
किनभने तिम्रा चालहरू सुन्दर छन्
सुनकेशरी रानीका जस्ता केशराशिमात्र होइन
तिम्रो सम्पूर्ण रूपकृति
धेरै मिथकहरूमा वर्णन गरिएका धेरै अप्सराहरूका भन्दा
कम्ती सुन्दर छैनन्
तर मारिया, माफ गर
तिमी जति मृदु मोमलाङ्गिनी लागे पनि
कारणवश –
जसको कुनै कारण गन्न सकिँदैन
कारणवश –
जसको कुनै कारण गन्न सकिँदैन
म तिमीलाई प्रेम गर्न सक्तिनँ !
म तिमीलाई प्रेम गर्न सक्तिनँ !!
म तिमीलाई प्रेम गर्न सक्तिनँ !!!……

(स्रोत : Npgerman)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.