~पुरुषोत्तम दाहाल~
प्रिय नेपाल बन्दैछ लाक्ष्यागृह कसो गरूँ ?
शकुनी सोचका पासा भिल्लका हातमा चरु
बाल सन्ततिका साथ आमा कुन्ती निरीह छिन् ।
जनता जल्न खोज्दैछन् खरानी हुन के गरूँ ?
लोक पूर्व दगुर्दै छ तन्त्र दक्षिण पश्चिम
हिमाली काख बन्दैछ शस्त्रागार कि सङ्गम ।
दिशादिशा ढुकिरेछन् दुर्योधन दुशासन
लाक्ष्यागृह कुँदिरेछन् आजका यी पुरोचन ।।
मदिरामत्त भै दुष्ट राँको बाल्दछ रातमा
सत्यनिष्ठा कहाँ मर्छ छली मर्दछ काखमा ।
धृतराष्ट्रहरू चिर्छन् सिङ्गो देश चिराचिरा
तैपनि युद्धमा गिर्छन् शतसन्ततिका शिर ।।
निष्ठा विदुरको ज्ञान भीष्मको आर्तनाद छ
करुणा द्रोणको कुण्ठा कर्णकुण्डल चुड्दछ ।
गान्धारी ममताखानी विचरी घरकी चरी
लाक्ष्यागृह बलिरेछ बाँच्लिन् कुन्ती कसो गरी ?
देश बल्दा सबै डढ्छन् जलधी सुक्न सक्दछ
नजले पनि यो माटो आफैँ हुन्छ विभाजित ।
जातमा भातमा क्षेत्र सबैका हातहातमा
ढुङ्गो, माटो र मान्छेको खरानी पातपातमा ।।
सत्यका पक्षमा कुन्ती शत्रुका पक्षमा अरू
द्रौपदी आउँदैछिन् कि कृष्ण बस्छन् कता बरू ।
प्रचण्ड अग्निको ज्वाला दावानल बनिसक्यो
कथा कतै गुजुल्टिन्छ लाक्ष्यागृह जलिसक्यो ।।
नीति विदुरको रुन्छ शकुनी यत्रतत्र छ
जनता जाग्न सक्दैन मदिरामस्तझैँ ऊ छ ।
त्राहीत्राही कता भागौँ ढोका खोजौँ कतै छ कि ?
लाक्ष्यागृह मभित्रै छु बाँच्ने ठाउँ कतै छ कि ? ।।
शकुनी खेलको अन्त्य नभएसम्म दुष्टको
शत्रुता विषको बीज मेटिन्न वंश नाशको ।
कुरु कुण्ठा सबै त्याग देऊ सन्देश प्रेमको
रक्तकुण्ड हुने युद्ध त्याग वाहक ध्वंशको ।।
जलेको देशको माटो कसरी हेर्न सक्तछौँ ?
टुटेको देशको बाटो कसरी जोड्न सक्तछौँ ?
लाहाको घरमा आगो निभ्न सक्दैन क्यै गरी
खरानी घस्न को सक्छ देश पोलेर यस घरी ।।
तोडौं यो शकुनी जालो मिलाऔँ आत हात यी
निभाऔं घरको आगो जोगाऔँ जननी भनी ।
नभए अरूकै हुन्छ रजाई अनि के गरूँ ?
प्रिय नेपाल बन्दैछ लाक्ष्यागृह म के गरूँ ?
कपन-३, काठमाडौं
(स्रोत : मधुपर्क २०६७ माघ