~हिमांशु केशव~
कैलो घुम्रेकेश हावामा लहराउँदै
तलाउमा ढुंगा हान्ने
र
उठेका तरंगहरू हेर्दै
निःसंकोच अट्टहास गर्ने
बैँसोन्मत्त यौवनाले
आँखा नचाएर
आमन्त्रण गर्दा अभिसारका लागि
मेरो ढुकढुकी एकदमै बढेको थियो ।
मोहक फूलझैँ फक्रिँदी सुकुमारीका इशाराले
म
चुम्बकतिर फलाम तानिएजसरी
आत्मसमर्पणका लागि
निराशंक
तयार भए हुँला ।
अनुरागको तापले तड्पाएको हुँदो हो
स्थितिको परमार्थता हेक्का रहने कुरै भएन
पानीमा परावर्तित आफ्नै छविमा
अनायास
आफ्नै स्त्रीप्रतिरूप देख्दा
विस्मयको अपूर्व भावतरंगले
जीउ यसरी बिझाइदियो कि
जागृत मोह
र
अप्रकट भोगेच्छा अविलम्ब ओइलाए
गुह्य पश्चात्तापको नमीठो चुकचुकसँगै
सुकेको मुख
र
कामेको शरीर लिएर ब्यँूझँिदा
बल्ल निश्चित भयो
त्यो त निरर्थ सपना रहेछ
मेरो पुरुष अहम्मा चोट पुर्याउने ।
तर,
मैले बुझ्न सकेको छैन अझै
म आफूलाई स्त्रीरूपमा देख्न चाहन्नथेँ
या
आफैँलाई भोग गर्न नसकिने जानेर विस्मित थिएँ ।
(स्रोत : नेपाल साप्ताहिक)