कथा : मासुबिनाका मान्छे

~मनोज बोगटी~Manoj Bogati_1

भित्ताको स्तक्रिनमा म हेरिरहेको थिएँ । फेरि एउटा सपनाले आकार लिइरहेको दृश्य नांगो आँखाले म चौथोपल्ट हेरिरहेको थिएँ ।

चौथो सपना थियो त्यो ।

**

पहिलो सपना बुनिएको साँझ हुरी चलेको थियो । बाटामा रुखहरु लडेका थिए । भुइँमुनि हुनुपर्ने जरा भुइँमाथि थिए ।

ऊ त्यसरी टाँसिएकी थिई, जस्तो कि भर्खर एउटा हरर फिल्म जस्तो सपना थियो उसको आँखामा ।

‘नडराऊ ।’

यति शब्द पनि बलियो थियो । हुरीले उडाएको एउटा पात गाडीको ऐनामा टाँसिएका बेला बोलेको थिएँ म ।

हाँगाहरु पछारिएको सडकमा म सिमसिम पानीमा भिज्दै बाहिर निस्किसक्दा उसले जोरले मेरो हात समातेकी थिई ।

‘नजाऊँ ।’

‘अनि ?’

‘यहीँ बसौँ यत्तिकै ।’

‘यत्तिकै ?’

‘हुरी थामिँदै छ ।’

‘फर्कुं न त !’

‘होस् ।’

उसको आँखामा लतपतिएको कालो रङ पुछ्न मन लाग्यो । आँखा छोपेको केश सम्हाल्न मन लाग्यो । मलाई थाहा भएन, गाडी बाहिर थामिएको हुरी कतिबेला गाडीभित्र पस्यो र थुनियो । हामी होटल गएनौँ । जानु नै परेन ।

अस्पतालको भित्तामा देखिएको त्यो सपना उत्सवको थियो ।

उत्सवले सपनाको खोलबाट निस्किएर विपनाको भुइँ टेक्ने कल्पनाले म बुरुक्क उफ्रिरहेका बेला स्क्रिन बन्द भयो । जहाँ म उसको पेटभित्र लुकेको कालो छायाँ हेरिरहेको थिएँ । त्यो छायाँ मेरो खुनबाट बनिएको थियो ।

**

‘बुझ्यौ ? संसारभरका स्त्रीहरु भाग लगायो भने एक पुरुषलाई चारओटी पर्छ ।’

उसले मेरो हातलाई आफ्नो हातले बेह्रेर साङ्ली बनाएकी थिई । उभिएको हामीलाई ताकेर सुयोगले तर सुनाइरहेको थियो मलाई । सुनिरहेकी थिइन् उनी ।

‘कसरी ?’ उनले सोधिन् ।

‘त्यति संख्या छ रे केटीहरुको । अमेरिकाको एउटा समाचार पत्रिकाले भने अनुसार ।’

मलाई पत्यार लागेन ।

**

सुनीतालाई मैले पाँचतल्ले सुपर मार्केटको टप फ्लोरमा भेटेको थिएँ ।

तिनी तीन बहिनीसित थिइन् ।

‘मैले नै फोन गरेकी हुँ तपाईंलाई,’ उनले भनिन् । तीन बहिनी छुटेर कता गइन् ।

‘नम्बर कहाँबाट पाउनु भो ?’

‘म्यारिज ब्युरोबाट ।’

‘तपाईंले मेरो फोटो र बायोडाटा हेर्नुभएको छ । म साधारण

केटी हुँ ।’

‘म काममा व्यस्त छु । सबैले कर गरिरहेका छन् ।’

‘के गर्नुहुन्छ त ?’

‘यही महिना सोचेको ।’

होटल लोयडमा संगीत बज्यो । उपहार दिनेहरुको ताँतीबीच तीन बहिनीमध्ये एकले भनिन्- ‘अलिक क्लोज हुनूस् न, फोटो खिच्छु ।’

मैले पहिलोपल्ट उसलाई अँगालो मारँे ।

**

‘हुन सक्छ पनि, हुन सक्दैन पनि,’ मैले भनेँ, ‘सुनीतालाई मैले जसरी पाएँ, त्यसलाई हेर्दा होइन नै लाग्छ ।’

सुयोगले नसुन्ने र सुनीताले सुन्ने गरी म बरबराएँ ।

**

सुयोगको डिनर पार्टीबाट फर्किंदा गाडीमा भनिन्, ‘त्यत्रो ठूलो घरमा एक्लै बस्न दिक्क लाग्न थाल्यो ।’

‘जान्दछु म । डाक्टरकोमा जाऊँ न,’ उपाय बताएँ । काखमा कोही आए उसले यसो नभन्ने हो ।

‘खै, मिसक्यारेज भइहाल्छ, डाक्टरले पनि केही गर्न सक्दैन ।’

‘डाक्टर भगवान् होइन ।’

‘भगवान् ? तपाईंको मुखबाट भगवान् ?’

‘तिमीलाई बुझाउन भनेको मात्र ।’

महिनादिनमा हामी साथ थियौँ । ड्राइभ गर्दै उनलाई हेरेँ र मैले भनेँ, ‘भगवान् तिमीले बनाएर भयो । तिम्रो मान्यताले भयो । भगवान् भनेको नीति शिक्षा मात्र हो । मैले बाटाबाट उठाएर ल्याएको चिल्लो ढुंगालाई तिमी शिवलिंग देख्न सक्छौ । तर, शिवलिंग के हो, त्यो देख्न सक्दैनौँ ।’

‘तर भगवान्सित डराउन सिक्नुस्’-उसले भनी ।

**

विशाल अस्पतालभित्र म माउथफ्रेसर स्प्रे गर्न व्यस्त थिएँ । अब डा सलोन भेटिनेछन् र सोध्नेछन्, ‘फेरि मिस्टर मिलन ?’

तीनपल्ट भइसकेको थियो यसरी सोधेको ।

डा सलोनले सुनीतालाई भित्र लगेकी छन् । म बाहिर भित्तामा टाँसिएको स्क्रिनमा हेरिरहेको छु । मसित मजस्तै एक पुरुष साथमा छन् । तिनी पनि हे रिरहेका छन् ।

‘मेरो सपना हो,’ मैले भनेँ ।

‘विपना होला,’ तिनले भने ।

‘आधा सपना, आधा विपना होला ।’

ऊ बाहिर थिई । अहिले म भित्र थिएँ ।

‘मिस्टर मिलन, अब भयो,’ डा सलोनले मलाई भनिन् ।

‘उसमा केही गडबड छ ?’ मैले सोधेँ ।

‘गडबड त छैन तर ऊ असुरक्षित नहुन सक्छ ।’

‘प्लिज डा सलोन, मेरो इच्छा यो होइन ।’

‘इच्छाले जीवन चल्दैन मिस्टर ।’

‘म इच्छैले चलाइरहेको छु ।’

‘यो तपाईंको मात्र भ्रम हो । अतिच्छा विनाशकारी हुन्छ ।’

‘प्लिज डाक्टर ।’

अहिले ऊ भित्र थिई । म बाहिर ।

मैले डा सलोनको हातमा चौथोपल्ट पनि त्यही सुईं देखेँ ।

**

सुनिटानेस्ट पुगिसकेका थियौँ । ऊ अंग्रेजीमा लेखेको घरप्लेट पढ्दा सुनीतालाई सुनिटा पढ्छे ।

मैले म्यासेज हेरेँ एमडीको थियो ।

म फ्रेस भएर बाथरुमबाट निस्कँदा पनि उनी सोफामै थिइन् । उनले सोधिन्- ‘नाम के राख्ने ?’

‘फेरि ?’ अलिक कडा उठेको स्वर फेरि धीमा गर्दै मैले भनेँ, ‘तीनपल्ट भयो तिमीले सोधेकी र मैले तीनपल्ट नै भयो उत्तर दिएको ।’

‘भन्नूस् न !’

‘उत्सव नै हो ।’

‘यसपल्ट काव्य राखौँ न ल ?’

मैले उसलाई हेरेँ । किन यसो भनिरहेकी छन् ? फेरि म्यासेज आयो । फोनमा हेरेँ । एमडी नै थियो ।

उनले नै भनिन्- ‘एमडी ?’

‘हो ।’

‘जानुपर्छ होला ।’

‘हो ।’

उनी पेट मुसार्दै सिरानीले मुख छोपेर ढल्किइन् ।

‘म गएँ ।’

त्यत्तिकै तिनले ‘बाई’ भनिन् ।

अफिसको एमडी च्याम्बरमा म सबैभन्दा धेर लागेको खुसीसाथ उभिएको थिएँ । कम्पनीको नयाँ प्रोजेक्टको फाइल मेरो हातमा थियो ।

‘बुहारी कस्ती छन् ?’ एमडीले काँधमा धाप मार्दै भने- ‘छोरीजस्तो लाग्छ मलाई ।’

**

त्यो रात कलबेल बजाउन परेन । खुल्लै थियो ।

ओछ्यानमा खुनको टाटो देखेर मलाई असाध्यै डर लाग्यो । तिनी थिइनन् ।

टेबलमा चिट्ठी थियो ।

चारपल्ट भयो मेरी छोरीहरूको हत्या भएको । ती अनमोल काव्यहरु थिए । तर, तपाईंको जिदलाई मैले यसैकारण कदर गर्नुपर्‍यो कि तपाईं मेरो लोग्ने हुनुहुन्थ्यो । लोग्ने हुनु एउटा घमण्ड पनि हुन सक्छ । किनभने, म लोग्ने होइन । मलाई लाग्यो, यो लोग्ने कुनै दिन मलाई पुरुषप्रति घृणा गर्ने शब्द नबनोस् । मैले घृणालाई माया गर्नुपर्छ भन्ने कुरा पहिलोपल्ट काव्यको हत्या हुँदा नै थाहा पाएकी थिएँ । उनीहरुलाई हाम्रो संसारमा आउन वर्जित थियो । त्यसमा मैले पनि तपाईंलाई सहयोग गरिरहेकी थिएँ । तर, म नहुँदो हुँ, तपाईं हुनुहुन्थ्यो ? यो प्रश्नले मलाई सधैँ सतायो मिलन । मैले तपाईंको आमालाई सम्झिएँ । तपाईंलाई जन्माएर तिनी रमाइ होलिन् । तर, तपाईंको आमा नभएको भए तपाईं हुनुहुन्थ्यो ? यो प्रश्नले पनि मलाई सतायो मिलन । तर, म थिएँ, तपाईं हुनुहुन्थ्यो तर काव्यहरु किन हुन सकेनन् ? यो प्रश्नले मलाई होइन, तपाईंलाई किन सताउँदैन ?

त्यसउता केही लेखिएको थिएन । मैले कतिपल्ट त्यही कागजलाई ओल्टाइपल्टाइ गरेँ थाहा छैन । मेरा आँखाअघि मरेका सपनाहरु झुन्डिरहेका थिए । हड्डी बनिन नसकेका स-साना मान्छेका आकृति, मासु बनिन नसकेका मान्छे आकृतिका खुनका डल्लाहरु । अस्पतालको भित्तामा टाँगिएको स्क्रिन होइन, त्यो मेरो आँखा हो । जहाँ चारवटी काव्यहरु देखिएपछि मैले हत्याको योजना बुनेको हुँ । डा सलोनको चर्को आवाज मेरो कानमा कसैले मूला नै खाँदै जस्तो पसिरहेको थियो ।

‘यो अपराध हो मिस्टर मिलन ।’

‘म छोरो चाहन्छु डा सलोन ।’

अहिले यी वाक्यका हरेक अक्षर यति तिखा थिए, जति सुनीताको शरीरभित्र पसेका ती सुईका टुप्पाहरु थिएनन् । ती भ्रुणहरुलाई दुई फ्याक पार्ने र मेरो युद्ध जितिदिने ती सुईहरुले मेरो आँखा किन फोर्न सक्दैन ?

मलाई लागेको थियो, हरेक पुरुषलाई एउटै स्त्री परोस् । एउटै छोरा होस्, जस्तो म थिएँ । तर, ती खुनका डल्लाहरु जसको मैले हत्या गरिसकेको थिएँ, उनीहरु मेरा वरिपरि थिए । घुमिरहेका मासुबिनामा मान्छेहरु । केवल खुनका डल्लाहरु । मलाई सोधिरहेका थिए हजारौँ प्रश्न । म मौन थिइनँ । म मौन थिएँ । तर, कतिबेरसम्म ?

मैले भनेँ- ‘म हत्यारा होइन ।’

मैले नै भनेँ- ‘म हत्यारा हुँ ।’

म सुनीतालाई लिन कहिल्यै गइनँ ।

त्यो दिन म सोझै थानामा गएको थिएँ ।

म भनिरहेको थिएँ- ‘इन्सपेक्टर मलाई पक्रिनुहोस् ।’

उनीहरु मलाई हेरिरहेका थिए तर देखिरहेका थिएनन् ।

प्रकाशित: आश्विन १२, २०७१

(स्रोत : नेपाल साप्ताहिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.