~हेमन्त विवश~
जदौ गोसाइँ
चिन्नु भो ?
तपाइँ मेरो पुर्खाको गौरव
म उही हली हुँ मालिक
तिम्रा मोबाइल र कम्प्युटरमा दगुर्ने औंलामा
टाँसिए टानँसिएनन् माटाका कणहरु
त्यही माटोको आद्रता ओढेर
त्यही माटोको सुवास बोकर
झुलाएको थिएँ अन्न बाली
वर्षौ वर्षसम्म
र
बनेको थिएँ
भन्साको नूनदेखि कौसीको चुनसम्मको ढाक्रे
पेटमा पटुका बाँधेर
हलोसँगै पिँडुला रपाखुराको मासु जोत्ने
म उही हली हुँ गोसाइँ
काटेर ल्याउथेँ
जात्रा हेर्न हिँडेकी युवतीको
बैंस छर्दै गरेको उन्मत्त कपाल झैं
भीरको बाबियो
र पो बढारिन्थ्यो तिम्रो कौसी
उकालो घन्टौं हिँड्थ्यो मसँगै
डोकोभरीको सानो पसल बोकेर
र पो पाक्थ्यो तिम्रो भान्सामा परिकार
साँझ अबेरसम्म जूनको उज्यालो ओढेर
सोझ्याईरहन्थे आँगनमा अचानो
र पो जोगिन्थ्यो तिम्रो अँगेनामा आगो
मधेस झरेपछि त चिन्न पनि छोड्नु भएछ क्यारे !
ठिकै हो
त्यही मिाटो जोतेर निकालेको हुँ
रिपुमल्लका पालाका माटाका भाँडाहरु
जुन आज नेपालमा छन् रे
चिन्दैनन् तिनले पनि
भोलि फेला पार्नेछु
मेरै हजुरबाले बोकेर ल्याएको
अर्जुन शाहीको शीला
जसको लम्बाइ, चौडाक्ष् र उचाइ
अटाउनेछ तिम्रा क्यामरामा
तर कहिल्यै अट्ने छैन
मेरो पिठ्यूँको डाम
किनकि म हली हुँ मालिक, हली
तिम्रो मोबाइल, क्यामरा र ल्यापटपभन्दा
बहुमुल्य छन् मैले बोकेका चकमक, झुलो र दर्शनढुङ्गा
यिनमा टाँसिएका छन् माटोका कणहरु
माटोका कण टाँसिएको जिन्दगी छ मसँग
हरेक पर्व पर्वादीहरु र तिनमा गाइने डेउडा,धमारी र
चैत
सबैमा देख्छु मैले माटाका तिनै कणहरु
तर पनि हलो जोतेर सीता उब्जाउने
सीताको मन्दिरमा कहिल्यै जान नपाउने
म उही अभागी हली हुँ मालिक
प्रायः जसो तिम्रै खेतमा जोतिएको
डोटी गौडाको किल्लाको भग्नावशेषजस्तो जिन्दगी
जोत्दै छु आज उही गोरेटोमा
डाँडामाथिको घाम बनिसक्दा पनि
थाहा छैन
किन छोड्दैनन् माटाका कणहरुले मसँग साइनो गाँस्न
मलाइ थाहा छ,
माथि, महलबाट हजुरले
तल, माटोमा उभिएको म हलीलाई
त्यति सजिलै देख्नुहुन्न,
आखिर जेसुकै भए पनि
हजुरको गगनचुम्बी महल पनि त
माटोमै उभिएको ।
(स्रोत : Nepalpati)