~देवेन खरेल~
कविको मोह कवितासँग
कविताको परिभाषा स्रोतासँग
अर्थ यथार्थ भाव र अनुभूतिहरुलाई
थोरै ङिच्च हाँसोमा घोलिदिएर
पोल्टोमा एउटा सानो कविताको टुक्रो घिसार्दै
आजका मानिसहरुको भीडमा
एउटा जाबो स्रोता पत्ता लगाउन निस्केको
मेरो कवि धेरै दिन भयो ।
त्यो दिन मिर्मिरे उज्यालोले टेकेको पाइलालाई
उछिन्दै उसले
चीसो गुँड परित्याग गरेर
कविताको गुहार लगाएर
एउटा सास्वत सत्यलाई फलाक्न
तम्सिएको मेरो कवि
यत्तिका दिनसम्म
आजका मानिसहरुको भीडमा स्रोता खोज्दै
मानिसहरुकै बीचमा हराएको छ ।
समयले सत्य र यथार्थलाई उछिनेको धेरै भयो
निमुखा र निरीहलाई पछारेको धेरै भयो
सृष्टिपछि सृजिएका आत्माहरुमा
रिक्त रिक्त शनै शनै भावनाको त्यान्द्रो चुडिंदै
बिवेकको टुक्रो भाँचिंदै गएका
गाईजात्राको लाखे झैं भई
अनुहार अगाडि अनुहार पछाडि
आफू भन्दा फराकिलो मखुण्डो भिरेर
यत्र तत्र सर्बत्र लाखे नाचमा लिप्तिएका
यी आजका मानिसहरुको भीडमा
मेरो कवि स्रोता खोज्दै हराएको छ
मेरो कविको कवितामा
‘बार’को डिस्को र पप नाच्दैन
रक एण्ड रोल र पपको धुन बज्दैन
जँड्याहाको अमिलो जाँड मात्दैन
हेसिस, चरेस, कोकीन र चुरोट तात्दैन
ब्राउन सुगर र हिरोइनको सृङ्गार पनि छैन
फिलीमको हिरो हिरोइनसँग लुकामारी खेल्दैन
मोटरकार र भटभटेको इञ्जिन बोल्दैन
जुवाडीको कौडी छैन
पाखण्डी, फटाहा र चोरहरु जस्ताका लागि त
धरोधर्म साथ साँच्चै भन्ने हो भने
कठै त्यो कवितामा केही नै छैन
त्यस्मा त अल्पकालीन बैंशमा
बिधुवा भएकी सुन्तोलीको
सिउँदो तुहीएको निरीह बोली छ
तराईबाट उकालो लागेको त्यो गाउँले गाइनेको
सारंगीले हारेको संसारको
बिस्मित उदासिलो धुन छ
करेंसोबारी र घुरेल्नोलाई
साहुको पोल्टोबाट फुत्काउने अठोट लिएको
डाँडागाउँले दाइको मुगलान पस्ने गाथा छ
ती पारी कान्लामा कोदालीको मीठो चोटले
भोकाएको गीत र हुरी बताससँगै
साँझपख बाँसुरी भरी पोख्ने ठूलदाजुको लोकगीत छ
टाढा कता हो अरबमा
तातो बालुवा भरी आँसु र पसिना खन्याएर
तारकोलको सडक लम्ब्याउँदै जाँदा
त्यसै कालो सडक भरी
आफ्ना बालबालिकालाई पोल्टो भरी सिउरेर
भालेको पहिलो डाकमा
बसन्त खोलामा पानी भर्न आउने
मैतालुको अनुहार खोज्दो भीम दाइ र ती सानदाजुको त्यो सुस्केरा छ
यता वारी ती पाख्राघरे कान्लामा लगाएका
कोदो बैंशमा पुग्दा नपुग्दै
तमोरले कान्लालाई तानेर तल झार्दा
पल्लाघरे ठुलोकान्छो मझेरीमै मुर्छा परेको खबर छ
माटोसँगै बिदेशीएको साइनोलाई
केलाएर खोलो तरी वारी आउन खोज्दा
उग्रवादीको शंकापारी निमुखाहरुलाई गोलीले उडाएर
बहादुरीको तक्मा लिने बिचरा प्रहरी–सिपाहीदाइहरुको
सौगातले काँचो रगतले सिंगारिएको एक अँजुली माटो छ
हो हो यो साँच्चै हो
मेरो कविको कवितामा
आजका लोक संस्कृति र आफ्नो पनको
खिल्ली उडाउने आडम्बरी र भ्रष्ट
लाज पचाएका लबस्तरा आधुनिक भनाउँदा मानिसहरुकालागि
केही नै छैन
किमार्थ छैन ।
साँच्चै थुप्रै दिन भयो
ऊ निस्किएको थियो ।
अँ अब झ्याँउकिरीको झ्याईं झ्याईं पछि
बढ्न थाल्यो
रात पो पर्न थाले छ
ताराहरु पनि म आकाशै भरी लटरम्म फक्रिन थाले
लौ रात प¥यो, लौ सुत्न जाऊँ
मेरो किव फर्किएर शायद आज पनि आउन्न
बरु फेरि
भोलो बाटो हेरौंला
शायद आज पनि उसले स्रोता पाएन होला
शायद कस्तो बिडम्बना छ
Deven Kharel, New Delhi, India
2059/8/15
(स्रोत : Shahityasagar)