~मौलश्री लिम्बू~
हे भगवान !
हे ईश्वर !
हे अल्लाह !
हे प्रभु !
हे माङ् ! [किरात धर्मालम्बीहरुको पुकार]
हजुरहरु अदृश्य भए पनि
आतिशबाजी गर्दै देखा पर्नु होस्
नत्र
एक पटक पालैपिलो खुट्टो देखाई दिनु होस्
म नतमस्तक भई पुर्पुरो ठोकाउने छु
हजुरहरुमा पनि त त म म हुन्छ भने
वर्णक्रम मिलाएर ढोगौला
तर
फुत्त निस्कनु होस्
या
जसरी हुन्छ अब प्रकट हुनु होस् ।
मेरो सवालहरुको लिस्ट लम्बी सकेको छ
मेरो गथासोहरुले पिरोल्न थालेको छ
देखा मात्र पर्नु होस्न !
म यस्तरी असन्तुष्टहरु खोलेर बिस्कुन लगाउने छु कि !
अदालतमा वकिलले अभियुक्तलाई
स्कुलमा शिक्षकले विद्यार्थीलाई
त्यसरी नसोधिएको होस्
सरल भाषामा सरल जवाफ माग्ने छु –
-जात के हो ?
-धर्म के हो ?
-संस्कार के हो ?
-कोहरु को-को भन्दा ठुलो-सानो ?
-कोहरु जन्मजात राजसी/नरपति ?
-कोहरु जन्मजात प्रजा/दासी ?
-को चै हुनुहुन्छ सर्वश्रेष्ठ ?
आदि,ईत्यादी
मलाई जवाफ चाहियो।
मलाई किटानी चाहियो।
मलाई ब्रम्हाज्ञान चाहियो।
उहिले-उहिले
म/मान्छेहरु
हजुरहरुको साक्षात् दर्शन गरेर पुज्थ्यौ
चोखो पानी,फूल,अक्षेता चढाएर भक्ती गर्थ्यौ
हजुरहरु प्रसन्न हुँदा
मागेको वर थपक्कै दिनु हुन्थ्यो…तथास्तु !
तब,मात्तिएर आपसमा लड्थ्यौ,ईर्ष्या गर्थ्यौ
जब हामी विवेक गुमाएर
हानथाप गरि रहेका हुन्थ्यौ
त्यो बखत
नपुकारी नै गजबले देखा परेर सालसुल गर्दै…अलप!
मैले धार्मिक फिल्महरुमा
मैले धार्मिक धारावाहिक टेलिसिरियलहरुमा
यस्तै-यस्तै देख्दै आएको छु
आजकल हामीबिच सम्पर्क छैन
कैले देख-भेट पनि हुँदैन
जति नै वर मागौ
कैले तथास्तु मिल्दैन
जति नै दुरि बढे पनि
कर्तव्य हामीले निभाएका छौ
साँझ-बिहान पूजा अर्चना गरेर
मुर्ति,प्रतिमा-आकृती कुँदेर या आस्थामा
हजुरको खिलाफमा बोल्नेहरुलाई
हजुरको अनादर गर्नेहरुलाई
-भक्कु सजाय दिएका छौ
-आक्रमण गरेका छौ
-युद्ध गरेका छौ
-जस्तालाई त्यस्तै गरेका छौ
वश,हजुरहरु कै खातिर
यी सब हामी मान्छे विरुद्ध मान्छेमा
हजुरहरुको सच्चा भक्त बनेर
हजुरहरुलाई आ-आफ्नै ढंगले पुजेर
एक विरुद्ध अर्कोलाई प्रहार गरिरहेका छौ
सबैले पुकारिने हेहरु !
हामी मान्छे-मान्छेमा
अति नै हानाथाप भई सक्यो
थेग्नै नसकिले भुईचालो गई सक्यो
सर्वनाशको बिजहरु टुसाई सके
जो सग्लो रुख बनेपछि
हजुरहरुको पनि खैरात रहने छैन
हेहरु !
जहाँ हुनुहुन्छ,जुन अवश्थामा हुनुहुन्छ
तत्काल गोलमेच सम्मेलन गर्नु होस्
वाधा-अड्चन फुकाउनु होस्
समाधानका खाकाहरु कोर्नु होस्
आचारसंहिता तयार गर्नु होस्
नत्र चै हाम्रो अनि हजुरहरुको
अब सबै-सबैको अस्तित्व डामाडोल हुनेछ
भस्मका तथास्तुहरु
खाल-खालको शस्त्र-अस्त्रहरु
खाल-खालको वाहनहरु
जो सर्वनाशका लागि बनेका हुन्छन्
ती सबै-सबै
हामीले तयार पारी सकेका छौ
एकार्कामा प्रहार गर्न तम्तयार छौ
वश,विगुल फुक्न बाँकी !
समग्रमा सबैका हेहरु !
हजुरहरु अदृश्य हुनुहुन्छ
ल ठीकै छ
तर
कम्तिमा खुट्टो देखाई दिनु होस्
पुर्पुरो ठोकाएर सवालहरुको जवाफ माग्नु छ
अनि
मान्छेहरुको गिदीमा
लाहाछाप ठोक्नु छ ।
-मौलश्री लिम्बू
झापा, धरमपुर
(स्रोत : Dainikpost)