~कृष्ण कट्टेल~
यो गल्ली र म बिचको साइनो
वर्षौदेखिको हो
यहि गल्ली हुँदै पुगेको छु म
कहिल्यै नपुगेको ठाँउ
देखेको छु क्षितिज पारिको क्षितिज
त्यसैले, म जाँदापनि फर्किदापनि
बिहानपनि दिउँसो वा बेलुकापनि
जतिबेलै यो गल्ली चुपचाप चुपचाप
बसिरहेको हुन्छ, हेरिरहेको हुन्छ ।
उ हेरिरहन्छ
कुनै दिन बन्दुकै बन्दुक हिडेको यो गल्लीमा
आजभोली सवेरै कलिला नानीहरु
कलम टेकेर भविष्य खोज्दै हिड्छन्
कहिले हलो जुवा हिड्छ
अनि म हिड्छु
दिमागभरी उकाली ओराली
र खेतबारी बोकेर ।
यहि गल्ली, ऐँसेलुघारी
र बरपिपलले
बेसीखेत,पाखोबारी अनि
नजिकै बकाइनाका रुखमा
रमाइरहेका भगेँराहरुले हो
मलाइ पढाएको ।
मादल,दमाहा र सारंगीले नाच्न सिकाउदा
मलाइ न्याउली र कोइलीहरुले हो
गाउन सिकाएको ।
यीनै खोला र दुवालीहरुसँग रमाउदै
मेरा बा ले उमेर ढल्काए
म पनि दाह्री छिप्याइरहेछु ।
मेरा बा र मसँग
एक एक ओटा नागरिकता छ
मेरा बा ले पनि त्यहि सोचे
मैले पनि त्यहि बुझिरहेछु
नागरिकता नै हो मेरो देश
नागरिकता नै हो मेरो सरकार
त्यो बाहेक मैले कहिल्यै देखिन सरकार
र सरकारले पनि मेरा बा लाइ देखेन
मलाइ देखेन ।
देख्यो होला त केवल
जिल्ला प्रशासनमा बुझाएको
मेरा बा को फोटो, मेरो फोटो ।
आज बिहानै
भालेको पहिलो डाकमा व्युझिन पुगेँ
र सम्झिए
आखिर देश भनेको के हो ?
सरकार भनेको के हो ?
के नागरिकता मात्रै हो त
सरकार र नागरिकको सम्बन्ध ?म बाचुन्जेल
मेरा प्रश्न अनुत्तरित हुने डरले
मैले चुप लागेर नबस्ने सोच बनाएको छु ।।
(स्रोत : Nepalpati)