~यमुना पुन~
एउटा सुक्दै गरेको बोटमा
पानी छर्केर जगाँदै फूलाउने आसाले
मनमा बिस्वासको खात लगाएर
बोटमा जेलिएका जञ्जिर हटाउँदै
तिम्रै निम्ति सजाई रहेछु
यो शब्द र केरिरहेछु यो अक्षर ।
क्षितिजको रातो घामसँंग
लुकामारी खेल्ने गोधुली साँझमा
तिम्रा यादहरुले सताउँदा
घरको बार्दलीमा बसेर
तिम्रो यादमा टोलाउँछु
बाध्य छु कल्पनाको
भव्य सागरमा पौडिएर रमाउन ।
मनका चाहना र आर्तनादलाई मन मै कसेर
तिम्रा अनगिन्ति यादहरुले
माथिबाट थिचिदिदाबगाइरहेछु
मध्यरातमा मोतीका बलेसीहरु सिरानीमा ।
हेर्छु माथि आकाशमा
तिम्रो आकृति जुनमा
साट्दै गनिरहेछु लाँखांै ताराहरु
र सजाई रहेछु यी शब्द र वाक्यहरु ।
भावनाको दुनियाबाट
प्रेमिल सम्बन्धको गाँठो कस्दै
आज कलम चलाइरहेछु
यो मध्यरातमा शुन्यताको सहारामा ।
जीवन सुख्खा बगर बनेर आउँछ
कता–कता न्यास्रो र एक्लो अनुभूति हुन्छ
प्रेमिल चाहना कुहिरोसरी उडेर
जान्छ पर परसम्म ।
अदृश्य बस्तुहरुको छाप्रो बनाएर
तिम्रो प्रतिक्षाले निष्पट रातमा
जुनकिरीको उज्यालाले
संसार हेरिरहेछु
र सम्झन्छु तिम्रो आगमनको संकेतले
आँखाझ्यालबाट चिहाउँदा
रातलाई चिरेर
पर त्यो क्षितिजमा उज्यालो भइरहेछ ।
(स्रोत : Ganatantradaily)