~दिमित्री मेरेझ्कोभ्स्की~
अनु. कृष्णप्रकाश श्रेष्ठ.
प्रायशः गर्न चाहन्छु प्रेमको अभिव्यक्ति म,
किन्तु यो भावना व्यक्त गर्न छु असमर्थ म ।
रमाउँछु, पीडा बोध गर्छु, मौन रहन्छु म,
मानौं लज्जित छु, बोल्न चाहिं सक्तिन कत्ति म ।।
तिम्रो जीवन्त आत्माको हुन्छु सान्निध्यमा जब,
असामान्य छ यो सारा, रहस्यमय यो सब ।
प्रेमाभिव्यक्तिका लागि शव्द बेकार बन्दछ,
त्यस्मा अवर्णनातीत, दिव्य, गूढ रहस्य छ ।।
लज्जाशील र निःशब्द छन् हाम्रा यी सुभावना,
शान्तिभित्र समेटिन्छन् सारा पवित्र कामना ।
चल्दछन् चम्किला छाल सशब्द माथि सिन्धुमा,
रहन्छ मौनता व्याप्त सिन्धुको गहिराइमा ।।
(पोयेजिया सेरेब्य्रान्नोगो भेका ः १८८०ः १९२५,
खुदोझेस्तभेन्नाया लितेरातुरा, मास्को, १९९१ । पृष्ठ ८६ ः ८७।
अनु. कृष्णप्रकाश श्रेष्ठ, ९ सेप्टेम्बर १९९७, अत्राद्नोय २)
(रुसी कविताको नेपाली अनुवाद)
(स्रोत : Freenepal)