~हाङयुग अज्ञात~
श्रवण मुकारुङको राम भरोस
हिजोआज मधेसमा छैन
यता अनुहार खोज्यो, भेटेन
तेसैले जंगे पिलर नाघेर
उत्तातिर गएको छ
उत्ताबाट ढुङ्गा हान्न
उसलाई खुबै सजिलो भएको छ
हामी पहाडको डाँडाबाट
शितल बतास खाँदै
मधेसको धान फल्ने फाँट हेर्दैछौं
त्यहाँ हाम्रो स्वामित्व लहलह झुल्दैछ
राम भरोस यस बखत खेतमा हुनुपर्ने,
बिहारबाट धान खान आएका सुगाहरू
धपाइरहेको हुनुपर्ने, सोच्दैछौं
खेतको बीचमा उभिएको
बूढो आँपको फेदमा पनि छैन राम भरोस
थकाई मार्न सधैं त ऊ त्यहाँ हुन्थ्यो, सोच्दैछौं
काठमाडौंबाट मधेस धपाए पछि
कविका कविताहरूको नायक भयो ऊ
तर कस्ले उसलाई सीमापार लग्यो
कि एकाएक ऊ त हाम्रो मस्तिष्कमा
खतरनाक भिलेन भयो,
ऊ त घुसपैठिया भयो रे बबुआ !
उसले भर्खरै सत्ताको चार औंला छिनायो
तर रगत चुहियो मान्छेको
उसले छेंडखानी गर्यो शासकको अस्मितासङ्
तर स्वाभिमान ढल्यो नेपालीको
हाउ ! राष्ट्रकवि हो
फकाएर ल्याओ न राम भरोसलाई
केमा चित्त दुक्खाएर
रासनकार्डको ढुङ्गा फ्याँक्छ आफ्नै घरको छानामा !?
छालाको रङ्ग उसको
हाम्रै बागवानी खेतमा
पुस्तौं हल जोतेर कालो भएको हो
कालो भयो भन्दैमा
सबै भैंस् काँ हुन्छ रे बबुआ !
उत्ताबाट
ढुङ्गा फ्याँक्नु सजिलो भए झैं
पहाडको टाकुरोबाट पनि
ढुङ्गा फ्याँक्नु सजिलो नै हुन्छ
सजिलो भयो भन्दैमा
दुवैतर्फबाट
तेसरी ढुङ्गा फ्याँक्नु थाल्ने हो भने
मधेस त ढुङ्गाघारी हुन्छ रे बबुआ !
राम भरोस त सीमापार गएछ
कस्ले फकाएर ल्याउने !?
फलाम थियो ऊ
आगोमा पोलेर हतियार बनाउँदैछन्
आऊ रे राम भरोस
सिंहदरबारको यौटा कोठा तिम्रो नाम गरिदिन्छु
अबदेखि नहेर्ने पहाडको डाँडाबाट मधेस
मधेस हेर्न म मधेस नै झर्नेछु
तिमी पहाड हेर्न पहाड नै चढ्नु
तातो दु:ख मधेसको
चिसो दु:ख पहाडको
आखिर दु:ख त दु:ख नै हो,
तिमीमा आगो बाल्ने अर्कै
तिमीमा घ्यू हाल्ने अर्कै
यसरी त तिमी खरानी हुन्छौ
आऊ रे राम भरोस
आफ्नै घर फर्की आऊ
तिमीलाई सप्रेम मेरो हृदयमा जग्गा दिएँ ।
(स्रोत : Hulaki)