जसका सान्निध्यले पूर्ण र सुरक्षित तुल्याउँछ
ममतामयी आलिङ्गनले पीडादायी घाउ दुख्न बिर्सिन्छ
रूवाइ एकाएक हर्षमा अनूदित हुन्छ
सूर्य चट्टान फोरेर झुल्किन्छ
उष्णता आर्दता बनेर छरिन्छ ।
जसले खुरूखुरू कष्टका मुस्ला सहिरहन्छन्
यद्यपि ओठमा रश्मिका नवजात मुस्कान देखाउँछन्
र क्षणक्षण भावनाको महलमा राखेर
प्रेमको च्यादर ओढाइरहन्छन् ।
जो आफू दुर्बलिएर ममत्वको रहस्यमय क्षितिज कोर्छन्
तृणजडित प्यारो घरमा
मलाई नै खुवाउन र काखमा सुताउन उद्दत रहिरहन्छन्
तिनै मेरो ऐश्वर्य
मेरा बाआमाका साथ रहेर
तिनैको आशीर्वादमा स्पन्दित हुँदै
प्राप्तिको शिखर स्पर्श गर्न अनवरत हिँडिरहेछु ।
(स्रोत : Umesh Luitel’s Facebook)