~कृष्ण बिश्वकर्मा~
कठै !
सदियौं भो
मूक छन्
घृणित् छन्
शोषित् छन्
हेयका पात्र झिंगाहरु !
श्वेत ,
सफा र आलिशान दरबारहरु महलहरु
अझ भनु…
मठ – मन्दिरहरुमा निषेध छ – “प्रबेशाज्ञा ”
भुँडीवाल माकुराहरु
सदियौं देखि थापिरहेकै छन्
अदृष्य पासाहरु
अनि फसिरहेकै छन्
सबै – सबै
काला
राता
हरिया
साना
ठूला
निरीह झिंगाहरु !
त्राहिमाम छन्
छरपस्ट झिंगाहरु
परभक्षी माउसुलीहरुको आतंकले
बिगबिगिले
गौडा-गौडामा
ओडारहरुमा
गुफाहरुमा…..
ओहो ! कस्तो बिडम्वना
यो न खुल्ला आकाश सुरक्षित न गल्ली,
कुना- कप्चेराहरु
अनि न भो भयमुक्त
असख्य छाप्रा र झुपडीहरु घमसान युद्ध हेर त !
शक्तिका लागि
सत्ताका लागि
भूगोलको एक दूरगम पाटोमा
सिंह- सिंहहरु बिच
बाघ- बाघहरु बिच
ब्वांशा-ब्वांशाहरु बिच
स्याल-स्यालहरु बिच अनि
बाजहरु र चिलहरु बिच
ताण्डब हेर्दै दङ्ग छ
फेरि एक हूल लाटोकसेराहरु तर,
दूर-दूर नियाल्दै छ
खुशी हुँदैछ
एक बूढो गिद्ध
हे निरीह झिंगाहरु !
ल हेर
यहाँ शक्तिको लडाइँ
सत्ताको लडाइँ
स्वार्थ अनि बर्चस्वको लडाइँ
गुमनाम तिम्रा;
सह-अस्थित्वाहरु
पहिचानहरु
हक-हित र अधिकारहरु
अब बिचार तिम्रै एकाकारमा निहित छ
डार्विनका सिद्धान्तका अघि
हे प्यारा झिंगाहरु
ग्वेबल्सका अनुयायीहरु अब बिस्थापित हुने छ्न्
निसस्त्र छौ त के भो ?
बिहानीको उषासंगै
नौलो बिहानी
नौलो ईतिहास रच्न तिमिहरु ,
“ईबोला” ग्रस्त पारिदिन सक्छौ
बाघहरु र सिंहहरुका
विशाल सिंहदरबारहरु हो…
ईबोला ग्रस्त
नमस्कार सम्पुर्ण अग्रज अनि समकालीन साहित्यिक सहृदयी मनहरुमा म कृष्ण बिश्वकर्माको । आज फेरि एक कबिता जस्तो लिएर यहाँहरुको अनुमती बिनै ट्याग गरि यहाँहरुलाई थोरै कष्ट दिने धृष्टता गरें ।
– कृष्ण बिश्वकर्मा
भरतपुर , चितवन
हाल : यु ए ई , आबु धाबी
(स्रोत : Helprise)