~टंक वनेम~
त्यति खेरमात्र मलाई अलि अलि थाहा हुन थालेको थियो । डयाडीले किन चेरीको बोटमा लगेर मलाइ मन पर्ने मिठाइ चकलेट दिनु हुन्छ। मायाले चुम्नु हुन्छ। कहिले काहीँ आँखा भरी आँसुको दाना टिलपिलाएको देख्थेँ। डेभिड दगुरेर आउँथ्यो र चकलेट खोसाएर भाग्थ्यो। डेभिड मेरो चौथो दाई उ निकै छुल्याहा र झगडालु स्वभावको थियो। घरमा पारिवारिक रमाइलो वातावरण नहुनुको साथै आमा र बाबुको खटपट परिरहन्थ्यो। छिमेकीहरु कतै टाढा छुट्टि मनाउँन जान्थे। होलीडेमा विताएका रमाइलो दृश्य र खाने परिकारको वर्णन गर्थे। तर हाम्रो परिवारमा त्यस्तो रमाइलो गर्ने समय कहिले जुर्दैन थियो। चेरीको बोटनेर किन ड्याडी मेरो गाला चुमेर रुनु हुन्छ भन्ने रहस्य बुझदै गएँ। आमाको इत्छा रहेछ दुई भाई छोरा जन्मे पछि अरु बच्चा नजन्माउँने तर डयाडीलाई भने एउटा छोरी हुनै पर्ने रहर। छोरीकै रहरमा हामी पाँच जना सन्तान जन्मेका रहेछौं। शायद त्यही कारण दुई संन्तान पछिका दुई छोरा र मसंग आमाको न्यानो संम्बन्ध कायम हुन सकेन।
प्रायःघरमा दुई संन्तान पछिका दुई दाई र मेरो विषयमा बाँझो भई रहन्थ्यो। आमाको रुखो ब्याबहारले सबै छोरा छोरी र डयाडीलाई अप्ठ्यारोमा पारेको थियो। एक दिन चेरीको बोटनेर डयाडीले मुख खोल्नु भयो। सारा तिमी आन्टीको घरमा बसेर पढ्न चाहान्छौ? उत्तिन्खेर जवाफ दिन सकिन। केहि बेर अलमल्लिएर भनेँ आन्टीको घरमा को को छन्? डयाडीले भन्नु भयो आन्टीका दुई छोरी जुली र केट तिम्रै उमेरका छन्। डेभिडले सत्ताएको आमाको खस्रो ब्याबहार,घरको असमझदारी कचकच संम्झेर जान्छु भन्ने मौन स्वीकृतीको मुन्टो हल्लाएँ। भरखरै मेरो १२ बर्षको जन्म दिन मनाइएको थियो। त्यो जन्म दिनमा पनि खासै रमाइलो भएको थिएन। डयाडीको इत्छा रहेछ अलि ठूलै पार्टीको आयोजना गर्ने तर आमाले बार हालेकी रहेछिन्। जन्म दिनको भोली पल्ट सेराले जन्म दिन कस्तो भयो भन्ने प्रश्नमा म लाजले पानी पानी भएको थिएँ। त्यही हप्ता जेठा दाई ब्राइन १८ बर्ष पुगेको हुनाले उ अन्तै बस्न हिड्यो डयाडी र मम्मीलाई थाहा संम्म थिएन उ कहाँ के गर्दै छ?
एक दिन सोफामा बसेर मम्मीले पत्रिका हेर्दै भन्नु भयो। अब तिमी काम नलाग्ने पत्रु भयौ। मम्मी सिक लिभमा बसेकी महिनौं बिती सकेको थियो। पछि थाहा भयो डयाडीले काम गर्ने रेञ्ज रोभर कम्पनी टुट्ने भएछ। डयाडीको अध्यारो मुहार हेरेर माया लाग्थ्यो। यस्तो आर्थिक कठिनाइको परिस्थितिमा पनि मलाई मन पर्ने मिठाई,चक्लेट,पिज्जा र अन्य खाने कुराहरु भने ल्याई दिनु हुन्थ्यो। किचनमा मम्मीको उपस्थिति कमै हुन्थ्यो। माइला दाई ज्याक किचनमा पसेको दिन म अघाउँञ्जेल खान्थेँ। माया गर्ने दाईहरु मध्ये ज्याक नैं पहिलो थियो। ज्याकले चक्काचुली खेल्न र साइकल कुदाउँन मेट्रोरेलको छेउ छाउ निकै पर ….परसंम्म लान्थ्यो। डयाडी र ज्याक नभएको दिन घरमा बस्न मन लाग्दैन्थ्यो। एक दिन आमालाई मन पर्ने टिभी प्रोग्राम ल्कीक गर्दा आमाबाट जुन हप्काई खाएँ त्यो गीदीबाट कहिल्यै बाहिर निस्कन सकेन। “मैले मारेको जीउँदो मान्छे तेरो चकचके हात काटी दिन्छु” अरु के के भन्दै निकै बेर फतफताएर अनुहार रातो बनाउँदै उग्र डेभिलको रुप लिए पछि म डरले ज्याकको कोठातिर लागेकी थिएँ। एक दिन आलु चिप्स र बिन्स खान्न भनेर अटेर गर्दा कालो टेपले मुख बाँधेर टवाईलेटमा कोच्चिन्नु परेको थियो। आमाको स्वाभाव दन्त्य कथाको छुच्ची बूढीको जस्तै थियो। उहाँको रुप पनि सुन्दर थिएन। पातलो शरीरमा ब्वाइजकट हेयर स्टायल रातो र खैरो कलरले केश रङगाएकी थिइन। जब फ्राइडे नाइट आउँथ्यो घरमा आमाको बास नहुने भए पछि अर्को झगडाको बीउ रोपिन्थ्यो।
यी सबै कुराहरुबाट दिग्दार भएर होला एक दिन डयाडीसंग भनेको थिएँ। डयाडी म आन्टीको घरमा बसेर पढ्न चाहान्छु। डयाडीले भन्नु भयो रबिन्सनले कुनै नराम्रो ब्याबहार गर्यो कि? डयाडी मम्मीलाई रिस उठेको बेला रबिन्सन चरोसंग दाँज्नु हुन्थ्यो। मैले भनेँ त्यस्तो केहि भन्नु भएन। डयाडीले भन्नु भयो हुन्छ म आन्टीलाई फोन गर्छु। मम्मी हस्पिटल गएको बेला फोन गर्नु भयो। डयाडीले सुटुक्क भन्नु भयो सारा जुली र केटसंग पढ्न पाउँने भयौ। यो कुराकानी भएको ६ महिना पछि एक समर फ्राइडे नाइटको साँझ आमाले लुगा पहिरिनु भयो। सोफामा बसेर निकैबेर घुरेर हेर्नु भयो। सिगरेटको ठुट्टा एस्ट्रेमा निभाउँदै भन्नु भयो। ज्याकलाई भन्नु साँझको डिनरको मेनु किचन टेवलमा छ। हुन्छ भन्ने मेरो मौन स्वीकृतिमा टाउको हल्लिए पछि मम्मी लागिन समर ड्रेसमा फ्राइडे नाइट मनाउँन कुन्नि? कताको पवतिर। डयाडी पेन्टीङ जबबाट घर आइपुग्ने बेला भएको थिएन। आफ्नो लाने लुगाहरु मिलाउँदै गर्दा कसैले ढोका ढकढकायो। ज्याक पार्ट टाइम सकेर घर आइ पुगेका रहेछन्। लौ तिम्रो लागि यो उपहार भनेर उ आफ्नो कोठातिर लाग्यो। पोका भित्र एउटा सुनौलो हयान्ड ब्याग थियो। मन मनै अन्दाज लगाएँ। ज्याक दाई र डयाडीको सल्लाह अनुसार म घर छोड्ने भएछु। बिहानै उठेर ज्याकले ब्रेकफास्ट बनायो। टोबी र डेभिडले टेबलमा खानेकुराहरु सजाए। एउटा रमाइलो वातावरण तयार भयो। मम्मी र ठूलो दाई ब्राइन बाहेक सपरिवार बसेर ब्रेकफास्ट खाने अन्तिम बिहान थियो त्यो।
टोबी,ज्याक र डेभिडले हक गरे डयाडीको सेतो गाडीमा समान राखेर यात्रा शुरु भयो। करिव तीन घण्टा पछि न्यूक्यास्टल शहरको छेउछाउ एउटा सुबुरुवमा आइ पुगियो। जहाँ जुली र केट मेरो प्रतिक्षामा बसेका थिए। उनीहरुलाई दुइ पल्ट बर्मीङघाम फेस्टिभलमा भेटेको थिएँ। पत्राचार भइ रहन्थ्यो। केटको बर्थडेमा मेरै हातले पेन्टीङ गरेको “कन्ट्री एन्ड पिपल” शिर्षकको आर्ट बनाएर पठाएको थिएँ। त्यो आर्टको नाम “इन्भेरोमेन्ट मेक पिपल” राख भन्ने ज्याकको आग्रहलाई भने मानिन्। जुली र केटसंगको भेट रमाइलो रहर्यो। मम्मीसंग छुट्टिन परेकोमा कुनै पश्यताप र वियोगले पिरोलिन परेन। शायद मम्मीले पनि म टाढा गएकोमा त्यस्तै खालको महसुस गरिन होला? डयाडी र आन्टी बीच लामो दुःख सुःखका गफगाफ चलेको थियो। जुलीको मम्मीले हाम्रो कोठा देखाउँनु भयो। जुली र केट डवल बङकमा सुत्ने भएछन्। कोठाको एक छेउमा मेरो बेड बनाइएको थियो। कुनामा टिभी र अर्को कुनामा एउटा ठूलो दराज सजाइएको थियो। सेप्टेम्बरको पहिलो हप्ता स्कुल जानु पर्ने भएछ। नजिकैको स्कुलमा मेरो नाम दर्ता भइ सकेको थाहा दिदैँ थिइन केटको मम्मी। मन पर्ने केट भइन क्लास मेड।
बिहान छुट्ने बेलामा डयाडी निकै रुनु भयो। सारा राम्रो पढ्नु रबिन्सनले तिमीलाई असल बाटोमा नलाने भए पछि यहाँ ल्याएका हौं यति भनेर गालामा चुम्दै हक गरेर बाटो लाग्नु भयो। डयाडी गएको बाटो र सेतोकारलाई हेरेर म टोलाई रहेँ। बाँकी दिनहरु केट र जुलीको साथमा रमाइलो गरी बित्दै गयो। कहिले काहिँ डयाडी भेट्न आउँदा पहिले फोनमा सोधेर मन पर्ने उपहार ल्याई दिनु हुन्थ्यो। एक दिन ज्याकले फोन गरेर भनेको थियो। सारा तिमीलाई थाहा छ? हामी बसेको घरको छिमेकीहरु हाम्रो मम्मी र डयाडीको हल्ला गर्दै झगडा गर्ने बानी प्रति वाक्क भई सकेका छन्। शायद काउन्सिलले हामीलाई कतै सार्ने होकि? त्यस पछि परिवारको कुनै सदस्यबाट शुभ अशुभको खबर दोहोरिएन। आन्टीले एकदिन सुटुक्क भन्नु भयो। सारा तिम्रो डयाडीले मेरो एकाण्टमा तिम्रो पढाई खर्च लगाई दिए पनि सम्पर्क बिहिन छन्। त्यस बेला मात्र थाहा भयो यहाँ बस्नको लागी डयाडीले पैसा तिर्दा रहेछन्। जे भए पनि आन्टी फर्साइली र दयावान थिइन। केट,जुली र मेरो चाहानामा कहिले पनि फरक छुट्याइनन्। मलाई भित्र भित्रै आन्तरिक इच्छा जाग्थ्यो। मेरा आमा पनि यस्तै गुणले सम्पन्न भइ दिएको भए कस्तो रमाइलो हुन्थ्यो होला? फेरि आफैले चित्त बुझाउँथे आखिर मम्मीको त्यो गुण नभएर के भो र? छोरीकै ब्याबहार पाएको छु। परिवारसंग संम्बन्ध बिच्छेद भएको तीन बर्ष भइ सकेको थियो। केट र जुलीको डयाडीले सावधानी गराउँन थाली सकेका थिए। हामी अब टिनेजर भइ सक्यौं रे! एक दिन सोफामा राखेर लामो लेक्चर गरेका थिए। ब्रिटि्रस टिनेजहरुको प्रेग्नेन्सी रेट दश प्रतिशतले बढेको छ। आफ्नो जीवनको लक्ष्य पूरा गर्नको लागि बढाउने हैना घटाउँने तर्फ लाग्नु पर्छ। केट चुलबुली थिइ। ल्कासमा घटाउँने भन्दा बढाउँनेहरु धेरै भई सकेका छन्। हिजै मात्र जेनले छोरी पाई। आन्टीले प्रश्न गरी यहाँ आई रहने जेन होकि? अर्की जेन हो? केटले नैं उत्तर दिइ मम्मी त्यही जेन हो जो केहि बर्ष अघि जुलीलाई भेट्न आइ रहन्थिन। जुलीले एक वाक्य नबोलेरै जितिन। त्यसै भएरत खतराको घण्टी बजाएर सावधानी गराएको होत। केटका डयाडीले कुरा थपे। केटले अर्को सत्य पनि ओकली हालिन्। डयाडी जुलीसंग एउटा गुड फ्राइन्ड पनि छ। केटको डयाडीले भन्नु भयो गुड फ्राइन्ड हुनु नराम्रो होइन। तर सावधानी अपनाउँनु पर्छ। हामी छिल्लिएर हाँसेका थियौं।
जुली ब्यूजिनस,म्याथ र साइन्स लिएर कलेज जाँदै थिई। केटसंग नछुट्टिने बिचारले दुवै जनाको सबजेक्ट मिलाएर आइटि,आर्ट साइन्स र थप विषयहरुमा कलेज जान शुरु गरेका थियौं। एक दिन सुटुक्कै केटले भनी हेर सारा रबिन मेरो पछि लागेको छ। मेरो छोटो उत्तर थियो। रबिन खराव आचरणको युवक होइन। मलाई पनि जोनले मन पराउँछ भन्ने कुरामा विश्वास्त थिएँ। जुली,म र केट भन्दा दुइ बर्षले जेठी थिई। केट र मेरो १८ बर्षको वर्थडे पछि तीनै जना ल्कव जाने भयौं। न्यूक्यास्टलको “लोन्ली हार्ट डिस्को” थेकमा खुव नाच्यौं। डिस्कोमा हनी हन्टर गर्नेहरु रबिन,जोन र आम्ट्रोङ हाम्रा भविस्यका राजकुमारहरु थिए। जोन १९ बर्षमा सैनिक बनेका थिए। उनको सैनिक तालिम समाप्त भए लगत्तै नोर्देन आयरल्याण्ड पुगेका थिए। नोर्देन आयरल्याण्डबाट जोनले पत्र लेखेका थिए।
प्रिय सारा! बन्दुक समातेर मेरो भौतिक शरीर नोर्देन आयरल्याण्डमा भए पनि मेरो मुटु,मेरो प्राण सबै थोक तिमीसंगै बास बसेको छ। चाँडै आउ। आशा छ मेरो हृदयको रानी बनाउँने इन्तजारलाई लम्ब्याउँने छैनौं। विश्वासका साथ तिम्रो जोन। नोर्देन आयरल्याण्ड।
पत्र पाए पछि मेरो मन समुन्द्रको छाल झैं हल्लिन थाल्यो। आन्टीले भनी सकेकी थिईन। सारा तिम्रो डयाडीले तिमी १८ बर्ष पूरा भए पछि तिम्रो पढाई खर्च बन्द गरी सकेका छन्। त्यो दिन म निकै मर्माहत भएकी थिएँ। परिवारको कुनै सदस्यसंग सम्पर्क नभएको करिव पाँच बर्ष भइ सकेको थियो। जोनको रङ प्रति मेरो कुनै आपत्ति थिएन। सबै भन्दा ठूलो कुरा माया हो भन्ने बिचारको पहाड अग्लि सकेको थियो मन भित्र। रात भरी निन्द्रा लागेन “चेरीको बोटनेर मम्मीले एउटा सेतो म्यागपाई चरोको घाँटी निमोठेर फालेको सपना देखेर ब्युँझंदा डरले काँपेकी थिएँ”। खलखलती पसिना बगेको थियो। केटले चाल पाई क्यारे! आधा निन्द्रामा भन्दै थिई सारा तिमी ठिकै छौ? अँ म ठिकै छु भनेर रातको त्यो सुन्यतामा निकैबेर सुकसुकाएको थिएँ। त्यही निन्द्रा नलागेको रात एउटा निर्णय गरेँकी थिएँ अब संधैको लागि यो घर छोड्नु पर्छ। जोनको अनुरोधलाई स्वीकार गरेर पत्र लेखेको हप्ता दिन पछि खर्च सहित जवाफ आई पुग्यो। आन्टीले प्रस्ताव स्वीकार गर्दै भनिन्। सारा अब तिमी उमेर पुग्यौ तिमीलाई जे गर्न ठिक लाग्छ त्यो गर। आफशोष तिम्रो डयाडी र मम्मीसंग भने सम्पर्क गराउँन सकेनौं। सके छु भने छोरी समान हेरचाह गर्ने परिवारको ऋण तिर्छु भन्ने वाचा गर्दै विदा भएँ। जुली र केट आयरपोर्टसंम्म पुर्याउँन आएका थिए। हामी सबैको आँखामा आँसुको दाना ढलपलिएको थियो एक अर्कामा हक गरेर विदा भयौं।
जोन आयरपोर्टमा लिन आई पुगेका रहेछन्। जोनको आँखामा खुशीका बत्तिहरु बलेका थिए। पुगेको हप्तादिन पछि नजिकैको रजिस्टर अफिसमा विवाह दर्ता गरियो। एउटा अफिसको रिसेप्सनिष्ट काममा हात हालेर दिनहरु बित्न थाल्यो। दुइ बर्ष पछि इसाबेल जन्मी र तीन बर्ष पछि बेन। गृहस्थि संसारमा भुल्दा खासै परिवारको संम्झना नआए पनि जब जब समर अप्रोज हुन्थ्यो चेरीको बोटहरु झयाम्म झयाङगिन्थ्यो डयाडीको मधुरो अनुहार कल्पनाको ऐनामा सलबलाउँन थाल्थे। बेन छेउमा आएर के के भन्न थाल्थ्यो अनि डयाडीको मधुरो संम्झना हराएको यादै हुँदैन्थ्यो। इसाबेल सात बर्षमा लागे पछि जोनको सरुवा भयो नर्थ योर्कसयर इङल्याण्ड। यहाँ आएको पछिल्लो पाँच बर्षका दिनहरु काट्न त्यती सजिलो भएन। जोन बारमा गएर राती अबेला घर आई पुग्थ्यो बाँकी समय सैनिक काममा ब्यास्त हुनु स्वाभाविक थियो। फोनको घण्टी बज्थ्यो उठाउँदा कसैले जवाफ दिँदैनथ्यो। एक दिन उस्को सेतो सर्टमा गुलाफी रंगको दाग देखियो। त्यो दाग राम्ररी हेर्दा स्पष्ट चिन्न सकिने चुम्वनको दाग थियो। त्यो दागलाई जोनले कुनै ठूलो अर्थमा लिएन। मनभित्र सङ्काको पहाड ठडिए पछि विन्टरको जाडोमा न्यानो बेड पनि चिसै शितमा परिणत भयो। जोनले एक साँझ जानकारी गरायो म भएको घरमा अब उस्को उपस्थिति हुने छैन। त्यती बेला मात्र थाहा भयो सैनिक जागिरबाट हात धुइ सकेको रहेछ। दुवै जनाको मन्जुरीले तिनै हप्तामा सम्बन्ध विच्छेदको टुङो लाग्यो ।
अब उसो दिनहुँ ढोकाबाट खस्ने गरेका बिलका चाङहरुलाई म आफैले समाधान गर्नु पर्ने भयो। सिङ्गल मदरको सुविधाले जीवन धान्न करै लाग्यो। विस्तारै इसाबेल र बेन आफैलाई हेरचाह गर्न सक्ने भए। छिमेकी आलिस्टर जीवन यात्राको उकालीमा साथ दिन आई पुग्यो। आलिस्टर पट्टिको छोरा माइक दश बर्षको थियो। कहिले काहीँ उ बाबालाई भेट्न आएको बेला म पनि अतितको गहिर्याइमा डुबुल्की मार्थे। आलिस्टर आफ्नो आमा बाबु खोज्न सघाउँनमा प्रतिबद्ध जनाउँथ्यो। एक दिन त्यही पूरानो गाउँमा पुग्यौं। घरलाई अर्कै रंग रोकनले डेकोरेसन गरिएको थियो। चेरीको बोट ढालिएको भए पनि जरा उखेलिएको थिएन। त्यो जराबाट चेरीका मसिना मसिना विरुवाहरु उम्रेका थिए। बिस बर्ष अघि एक रात सपनामा यही चेरीको बोटनेर आमाले एउटा सेतो म्यागपाई चरोको घाँटी निमोठेर मारेकी थिइन। यही चेरीको बोटनेर डयाडीले माया गरेर चुम्नु हुन्थ्यो। कहिले काँही डयाडीको आखाँको संघारबाट आँसुको नीलो आँसु बग्ने गर्दथ्यो।
आलिस्टरले घरको ढोका ढक्ढकायो। एउटा बूढो मान्छे र करिव दश बर्षकी शायद नातेनी हुनु पर्छ ढोकाबाट निस्के। बिस बर्ष अघि यहाँ मोनरो परिवार बस्थे तपाइलाई थाहा भए बताई दिनु होला,अहिले उहाँहरु कहाँ हुनु हुन्छ? बूढो मान्छेले भन्यो। हामीले यो घर काउन्सिलबाट लिएका हौं। यो घर खाली थियो। त्यसको मतलव उस्लाई यस विषयमा केहि कुरा थाहा छैन। आलिस्टरले धन्यवाद टक्रयाए पछि हामी विदा भयौं। बिस बर्ष अघि ३६ क्याम्टन रोड, पोष्ट कोर्ड बि.१६ सि.४५ को ठेगानामा बस्ने मोनरो परिवारहरु अहिले कहाँ बसेका छन्? कसैलाई जानकारी भए निम्न ठेगानामा या निम्न टेलिफोन नम्बरमा सम्पकर्क गरि दिन अनुरोध गर्दै एउटा विज्ञापन छपायौं। त्यो लोकल पेपर प्रकाशित भएको हप्ता दिन पछि टेलिफोनको घण्टी बज्यो। हेलो मर्निङ म सारा बोल्दै छु भन्ने साथ उत्ताबाट जवाफ आयो। सारा म ज्याक बोल्दै छु। बिस बर्ष भए पनि दाजु बहिनी बीच एक अर्कामा स्वर चिन्न त्यती गाह्रो भएन। टेलिफोनमा भेट भएको खुशियालीमा टेलिफोनमै धेरै बेर रोयौं शायद त्यो हर्षको आँसु थियो। सबै परिवारको जानकारी लिए पनि मम्मीको जानकारी लिन भने बिर्सेछु। पहिले डयाडीकै बारे खोजी भयो। छोटकरीमा ज्याकले भन्यो सबै ठिकैछ भेटेर सबै कुराकानी गरौंला भनेर कुरा टुङग्यायो।
अर्को हप्ता ज्याकले दिएको ठेगानामा पुग्यौं। त्यहाँ ब्राइन,ज्याक,टोबी,डेभिड र मम्मी बसी रहनु भएको थियो। ज्याक घर बाहिरै लिन आए हक गरे साथै भेट भएकोमा हर्षको आँसु बर्षाए। साथै टोबी र डेभिड पनि तर ब्राइन र मम्मीले न त्यस्तो आश्चर्य प्रकट गरे न खुशी ब्याक्त गरेको पाइयो। स्वभाविक अवस्थामा बसीरहेका थिए। भला कुसारी भयो। मम्मीले ठिकै छौ? भनेर औपचारिकतासंम्म निभाए। म हक गर्न अघि बढिन मम्मीले पनि इत्छा गर्नु भएन। मम्मी ब्राइनसंग बसेका रहेछन्। डयाडीको अनुहार नदेखेरै पनि प्रश्न राखि हाल्न सार्न्दभिक लागेन। आज कुनै मित्रको जन्म दिवस भएको हुनाले फेरि भेट्ने वाचा गर्दै मम्मी र ब्राइन विदा भए। मम्मी गए पछि डयाडी बारे जान्न चाहेँ। ज्याकले बेलिविस्तार लगाउँन थाल्यो। तिमी गएको ६ बर्ष पछि एउटा घटना घट्यो। मैले भनेँ कस्तो घटना? मम्मीले डयाडीलाई मार्नु भयो। ज्याकले अझ स्पष्ट पार्यो। मम्मीको चुप्पी प्रहारबाट डयाडीले चेरीको बोटनेर प्राण त्याग गर्नु भयो। डयाडीसंग चेरीको बोटमा धेरैबेर बस्थ्यौ हाँस्थ्यौ खेल्थ्यौ मम्मीले त्यसलाई धेरै अर्थमा लिएकी थिइन। ज्याक भन्दै गयो डयाडीलाई मार्ने अघिल्लो दिन त्यो चेरीको बोट पनि उसैले ढालेकी थिइन। डयाडीलाई मारेको अभियोगमा आठ बर्ष जेल सजाय भोगिन। आफ्नो ज्यानको सूरक्षा खातिर त्यो अपराधिक काम गरकी हुँ भन्ने बयानले कम्ति सजाय भोग्नु परेको थियो। उनी अहिले ड्रग्सको ब्यापार गर्छिन्।
ज्याकले मम्मीको कहानी सुनाई सक्दा आङ सिरिङ भयो। मम्मीको त्यो दरिद्र सोँच प्रति माया र घृणा एकै साथ माउण्ट स्नोडाउँन झैं चुलियो। मैले सोँचेको भन्दा धेरै तल गिरेकी आमाको कोखबाट जन्म लिएकी रहेछु। डयाडीको दुःख लाग्दो मृत्यु सुनेर सुकसुकाउँदा वातावरण नरमाइलो भयो। डेभिल आमाको कुकृत्यले छरपष्ट भएको परिवार जम्मा भए पनि खासै उल्लासमय भएन। दाजुहरुलाई भेट्न पाएकोमा भने खुशी लाग्यो। हिड्ने बेलामा ज्याकले सानो पोका झोलामा हाली दिँदै भन्यो घर पुगेर मात्र खोल्ने छौ। फेरि भेट्ने वाचा गर्दै विदा भयौं। घर पुगेर पोका खोल्दा त्यही खाना थियो। जो मलाई औधि मन पर्ने खाना ज्याक ब्रो बनाउँनु हुन्थ्यो। ब्रेडक्रुम्ड स्ट्रीप्पस अफ चिकेन एण्ड फ्राइज।
ज्याकसंग टेलिफोन सम्पर्क भइ रहन्थ्यो। अचानक एकदिन टेलिफोनको घण्टी बज्यो। सारा मम्मी अरेष्ट हुनु भयो। हिज राती पोलिसले ब्राइनको घर रेड गर्यो। जहाँ कोकिन,क्यानविस,डि.एम.टि, क्रर्याक र इक्सटासी जस्ता लागु पदार्थको अवैद्य धन्दामा समलग्न पाँच अपराधीहरुलाई अरेष्ट गरेको छ। उनीहरुलाई आजीवन कारावासको जेल सजाय हुने संम्भावना छ। हप्ता दिन पछिको कोर्ट फैसला चित्र सहित टाबोलायटहरुले मुख्य समाचार बनाएका थिए। ६५ बर्षिया भिकी मोनरो र उस्का चार सहयोगीहरुलाई अवैद्य धन्दा गरेको अभियोगमा उच्च अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। मम्मी जेल परेकोमा कुनै आश्चार्य लागेन। तर फेरि एक पल्ट चेरीको बोट हेर्ने इत्छा भने जाग्यो अनि ३६ क्याम्टन रोड पुगेँ। यस पल्टको समरमा एउटा चेरीको बिरुवा अग्लिएको थियो। घर धनीको सानो नातिनीले चेरीको बोटमा यस्तो कविता लेखेर झुन्ड्याएकी थिइन।
चियर अप चियर अप
चेरी बलुमिङ
ह्यापी फेलो मुन एण्ड सन
ओ माई ग्रयाण्ड डयाड
हयापी एण्ड लाइफ लङ।
(टंक वनेमको कथा संग्रह “श्र्लेष्मान्तकको साम्माङ्” बाट)
(स्रोत : Rameshdai)