~ईन्द्र नारथुङ्गे~
पसेर ‘नो हलाल’ लेखिएको दोकानमा
ङिच्च हिमाल हाँसिरहेको
पौराणिक डोजरको एक किलो ज्यान
चुक घोप्टिएको प्लास्टिक थैलीमा बाँधेर
युद्ध जितेको सिपाहीको रवाफमा
ब्रम्हप्रसाद उपाध्याय कोठा छिर्छन्
र,
देशले दलित मानेको
परदेशको सदाबहार भान्से, दमाई कान्छोलाई
अह्राउँछन् फ्राइपिनमा जात भुट्न ।
यता म,
“हलाल” लेखिएको होटलमा
प्रत्येक साँझ छिर्छु
र,
काउण्टरमा अर्डर गर्छु
देशले खान प्रतिबन्धित गरेको “लम्बुकरी”
जोसँग मेरो संस्कृती जोडिएको छ ।
तर देश,
चिल्साले खाइसकेको मुलुकी ऐन पल्टाएर
अन्तर्राष्ट्रिय कानुनसँग बाझिएको महल ब्यूँताउँदै
म गोरु खाने किरातीहरुलाई जेल हाली
मेरै खोरको पुँडी सुङ्गुर ढालेर
बिजयोत्सव उत्सब मनाई रहेछ
तिनै ब्रम्हप्रसादहरुसँग ।
शब्दार्थ :
हलाल : मुस्लिमहरुले खान वा प्रयोग गर्न मिल्ने भनी दिएको मान्यताप्राप्त चिन्ह ।
लम्बुकरी : गाई-गोरुको मासुको तरकारी
(स्रोत : Egkabita)