~चन्द्र गुरुङ~
अचेल हामी भेट हुँदा-
उपलब्धिका निजी डम्फु जोरसोर बजाउँछौँ
श्रीमतीहरू गरगहनामा गजब चम्कन्छन्
धनसम्पत्ति ज्यादै वाचाल बन्छन्
रहन्छन् अनेकथरी प्रयास
आफूलाई सर्वोत्कृष्ट साबित गर्ने ।
अचेल हामी भेट हुँदा-
व्यक्तिगत उन्नतिको हिमाल अग्लो ठड्याउँछौँ
नभएका सुखशान्ति प्रदर्शनीमा राख्छौँ
सुटुक्क लुकाइन्छन्, दुःखव्यथाहरू ।
अचेल हामी भेट हुँदा-
परस्पर विश्वास ओइलिएको फूल बन्छ
ओठमा कृत्रिम मुस्कान नाच्छ
ओढ्छौँ सुहाउँदो रूप अनुहारमाथि ।
अचेल हामी भेट हुँदा-
फुल्दैनन् फूलहरू ।
(स्रोत : नेपाल साप्ताहिक)