~रमी श्रेष्ठ~
एकातिर टीकेहरु
कलंकित निधार टल्काउँदै
नजाने के कति सम्झौता कोसेली सुम्पेर
अनावृत्त पर्दासंगै
लिप्सा प्रदर्शनमा
यहाँ
नग्न हुने गर्छन्
अर्कोतिर
जूकेहरु पनि के कम
टीका थाप्ने लाममा
अधीर छटपटीसंगै
नजाने कुन पोको कोसेली सुर्केर
टाउका पूच्छर एक पारी
प्रभूका पाऊ
नभए
खराऊ पुजनमा
उतैतिर
दौड कस्न उद्बिघ्न हुने गर्छन्
उसो त
हामी चुकेहरु पनि त के कम छौं र …!
हरेक पल्ट
घरमा बिभिषण र भष्मासुर हुल्छौँ
फेरि चुकचुकाउँछौं
अनि
पालैसित वादी र प्रतिवादी बनिकन धुर्तहरुले
आफ्नै आमाको
अंगइज्जत
दाऊ हान्ने कचहरीखालमा साक्षी बसी
पूनः
ल्याप्चे र ताली ठोक्न मग्न हुने गर्छौं `
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )