~राजु लामिछाने~
एकादेशमा अचम्मै राम्री एउटी यूवती थिईन । गाउँ शहरमा उनको रुप र जीउडालको राम्रै प्रशंसा हुन्थ्यो । जवानहरु उनलाई पाउन भुतुक्कै हुन्थ्ये । तर यूवती भने तिनीहरुलाई मान्छे नैं गन्दैनथिन । उनलाई आफ्नो रुप र जीउडालमा साह्रै घमण्ड थियो ।
उनको रुप र घमण्डीपनको दरबारमा पनि चर्चा भएछ । राजाले यूवतीलाई दरबारमा नर्तकीको रुपमा जागिर दिए । राजा साह्रै ज्ञानी र पराक्रमी थिए तर रुपमा भने ठगिएका थिए अर्थात राम्रा थिएनन । एक दिन राजालाई यूवतीको परिक्षा लिन मन लाग्यो र कसैले नचिन्ने गरि साधारण कामदारको भेषमा यूवतीलाई भेटेर उसको रुपको प्रशंसा गर्दै बिवाहको प्रस्ताव राखे । यूवतीले राजालाई चिन्नै सकिनन, उनको घमण्डको पारो चडिहाल्यो र रिसाउदै भनिन;
“ओइ गधा! तैले मसँग बिहे गर्ने आँट कसरी गरिस् हँ?, कुनै दिन आफ्नो अनुहार ऐनामा हेरेको त छस् तैंले, बरु भगवानले तेरो अनुहार बनाउने बेलामा तँ कता गएको थिइस हँ?, तँ त मेरो लोग्ने हैन नोकर बस्नको लागि पनि योग्य छैनस बुझिस् ।”
यूवतीको घमण्डबारे पहिल्यै सुनि सकेका हुनाले राजा रिसाएनन, बरु हाँस्दै जवाफ दिए ।
” हे सुन्दरी, तिमी भगवानले रुप र जीउडाल दिने लाईनमा बसिछौ, म भने भगवानले ज्ञान र भाग्य दिने लाईनमा बसेको थिएँ, त्यसैले त आज म राजा भएको छु र तिमी मेरो सेवक तथा साधारण नर्तकी । रुपमा घमण्ड गर्नु अज्ञानता हो । बिना ज्ञानको रुप र बिना पातको रुख उस्तै उस्तै हुन । म त तिमीलाई यहि कुरा सम्झाउन आएको थिएँ । तिमीसँग बिहे गर्न हैन । मलाई थाहा छ, पात नभएको रुखले छहारी दिन सक्दैन ।”
यूवती लाजले मरेसरी भै आफ्नो बाटो लागीन र त्यहि दिनदेखि आफ्नो रुपको घमण्ड गर्न छाडिदिईन ।
सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला ।
यो कथा बैकुण्ठ जाला
भन्ने बेलामा तात्तातै मुखमा आइजाला ।
जधौ !
(लोक कथामा आधारीत)
माझठाना ६, कास्की
हाल: हप्किन्स, मिन्नेसोटा
(स्रोत : Sapanasansar)