~दीपक खनाल~
(१)
प्यारो-प्यारो तराई-मधेश !
तिमीबिनाको देश
सोच्न पनि म सक्दिन
तिमीबिनाको भेष
सम्झन पनि म सक्दिन
तिमी छौ र त पहाड छ
तिमी छौ र त हिमाल छ
पहाड र हिमाल छ र त
तिमी छौ
तिमी, पहाड, हिमाल छौ र त
प्रिय स्वदेश छ
तिमी दरिलो गोडा हो
पहाड भरिलो ज्यान हो
हिमाल उच्च शीर हो
तिमी, पहाड र हिमालको
संयुक्त नाम मेरो नेपाल हो ।
(२)
प्रिय तराई-मधेश !!
तिम्रै धरातलमा उभिएको छ काठमाडौॅ
तिम्रै मेरूदण्डले अडिएको छ सिंहदरबार
तिम्रै भरले उठेको छ सगरमाथा
काठमाडौॅको टुॅडालटुॅडालमा तिम्रै पसिना देख्छु ।
सिहदरबारको प्वालप्वालमा तिम्रै रगत पाउॅछु ।
तिमीबिनाको काठमाडौॅ
काठमाडौॅबिनाको तिमी
सुन्न पनि म सक्दिन
तिमीबिनाको सिहदरबार
सिहदरबारिबिनाको तिमी
भन्न पनि म सक्दिन
(३)
सुप्रिय तराई-मधेश !!!
जन्मले फरक भए पनि
भूगोलले टाढा भए पनि
तिम्रो भन्दा मेरो कुनै जात छैन
तिम्रो भन्दा मेरो कुनै भात छैन
तिम्रो भन्दा मेरो भिन्न रगत छैन
तिम्रो भन्दा मेरो छुट्टै जगत छैन ।
जतिसुकै क्रान्ति गरेको नाटक गरे पनि
जतिसुकै परिवर्तन भएको चटक देखाए पनि
जहाॅसुकै समान छ शोषण तिमी र ममाथि
जताततै उस्तै छ विभेद हामीमाथि
एकै छ तिरस्कार
एउटै छ बहिष्कार
उही छ दमन-यातना
त्यस्तै छ अन्याय-अत्याचार
तिमीले जस्तै अपहेलना अपमान
मैले पनि सहिरहेको छु
तिमीले जस्तै उपेक्षा-अवहेलना
मैले पनि पाइरहेको छु ।
(४)
सुन्दर सुन्दर तराई-मधेश !!!!
स्पन्दन स्पन्दनमा तिमी नै छौ मेरो
धड्कन धड्कनमा म नै छु तिम्रो
मिथिलाबिनाको पशुपतिनाथ
पशुपतिनाथबिनाको मिथिला
कल्पनासम्म पनि गर्न म सक्दिन
बिद्यापतिबिनाका देवकोटा
देवकोटाबिनाका विद्यापति
परिकल्पनासम्म पनि गर्न म सक्दिन ।
छठबिनाको दशैॅ
दशैॅबिनाको छठ
कसरी म मनाउन सक्छु ?
जितियापर्व बिनाको तिहार
र तिहारबिनाको जितियापर्वमा
कसरी म रमाउन सक्छु ?
(५)
लाल लाल तराई-मधेश !!!!!
लोभलाग्दो तिम्रो श्रम
ईर्ष्यालाग्दो तिम्रो परिश्रम
तिमी नै सच्चा देशभक्त हौ
तिमी नै इमान्दार राष्ट्रभक्त हौ
तर पनि
तिमीले नै पेटभरि खान नपाएको थाहा छ
तिमीले नै जीउभरि लगाउन नपाएको थाहा छ
प्रत्येक साल खूनी शीतलहरले
तिम्रा बस्तीहरू
खण्डहर बनाएको पनि थाहा छ ।
हरेकसाल बैगुनी बाढीले
तिम्रा धर्तीहरूमा
बबण्डर मच्चाएको पनि याद छ
वारितिरका गुण्डाहरूले
तिम्रा पसिना चुसेको पनि थाहा छ ।
पारितिरका सुकूलगुण्डाहरूले
तिम्रो अस्मिता लुटेको पनि थाहा छ ।
(६)
आत्मीय आत्मीय तराई-मधेश !!!!!!
सामन्त-जमिन्दारहरू, शोषक-नौजालीहरू,
अत्याचारी-आततायीहरू, अन्यायी-झेलीहरू, लुटेरा-भ्रष्टहरू
पश्चगामी सोचका हुन् कि अग्रगामी सोचका
हिमाल–पहाड वा तराई–मधेशका भए पनि
जो जुनजुन ठामका भए पनि
जो जेजे नामका भए पनि
तिनीहरूको जात एउटै हो
तिनीहरूको वर्ग एउटै हो
तिनीहरूको सिद्धान्त एउटै हो
तिनीहरूको लक्ष्य एउटै हो
तिनीहरूको चित्र उही हो
तिनीहरूको चरित्र त्यही हो
तिनीहरूको धर्म एकै हो
तिनीहरूको कर्म एकै हो
त्यसैले
प्यारो प्यारो तराई-मधेश !!!!!!!
आऊ मिलाऔॅ हाम्रा हातहरू
आऊ मिलाऔॅ हाम्रा काॅधहरू
आऊ उठाऔॅ हाम्रा मुठ्ठीहरू
आऊ जुटाऔॅ हाम्रा मुड्कीहरू
एउटै उद्देश्यका लागि
एउटै प्राप्तीका लागि
स्वतन्त्रताका लागि
समानताका लागि
अनि
राष्ट्रिय एकताका लागि ।
–(2072/08/04, बर्दिबास, महोत्तरी, राति 12 बजे)
प्रेस काउन्सिल नेपाल, काठमाडौँ
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )