~बिष्णु सुवेदी ‘दोलखे’~
आदिम समय बोकेर
सँधै जस्तो रातो उदाउँछ
सँधै जस्तो रातो अस्ताउँछ
ठिटो घाम !
कलिलो बिहान अँगालो हालेर आइपुग्छ
भुई–ऐंसेलु टिप्न
छिरेर घना जङ्गल बुट्टा–बुट्टा हुँदै
छुन आइपुग्छ जरा !
छिचोलेर बादलका पर्दाहरू
तल–तल झर्छ
अङ्ग–अङ्गमा
हिँडिरहन्छ गोरेटो पहाड भएर
पहाडै पहाड हिँडिरहन्छ घाम
जिस्क्याउँदै जिस्क्याउँदै भीर पाखा
खोला नाला र गुराँसहरू,
जब ओर्लन्छ
तल–तल पृथ्वीको काख
मनहरू न्यानो कुद्छन्
फन्फनी बेरेर आफ्नो पटुकाले
तानिरहन्छ समुद्र झन्झन् !
पोल्छ मध्यान्ह भएर
पृथ्वी जस्तै टाउकाहरू
आँखा–आँखा चम्किरहन्छ
बैंसालु ठिटो घाम
घामै ओढेर
पसिना बग्छ खोला–खोला
खोंच–खोंच
गोठाला, भरियाहरू !
घाम उदाएको बिहान
चराहरू झरेर खेत
मनग्गे टिप्छन् भोक
र डकार्छन बस्ती–बस्ती !
बिस्तारै स्पर्श गर्छ शीत
सुतेका मनहरू सपनामा देखेर
अर्को–अर्को आकाश उड्दै
घामै चुम्छन् !
बारी–बारी कान्ला–कान्ला
दगुरेर गुफाभित्र पस्छन्
घामका लामा–लामा खुट्टाहरू
लामा–लामा हातहरू
चोपलेर औंला गाग्रीमा
अलिकता बाफ पिएर
फेरि फर्कन्छ उँभो–उँभो
पहाडै भएर आकाश
ठिटो घाम उदाएको बिहान
मनग्गे हाँस्छन्
नदी, हिमाल र मनहरू
र, पर्खिरहन्छन् रातभर
नवयुगको रङ्ग बोकेर आउने
आदिम समयको
ठिटो घाम !
राम्पा, दोलखा
(स्रोत : रचनाकारको ब्लगबाट सभार)